विदेशी पर्यटकवाहक सवारी अब अनलाइनबाटै दर्ता गर्न मिल्ने
फाइल तस्बिर अर्थ मन्त्रालय
काठमाडौं— स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने विदेशी पर्यटकवाहक सवारीसाधनका लागि सरकारले अनलाइन दर्ता तथा राजस्व भुक्तानी सेवा सुरु गरेको छ। भन्सार विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब पर्यटकहरूले नेपाल प्रवेशअघि नै आवश्यक विवरण भरेर शुल्क तिर्न सक्नेछन्।
यो सेवाको औपचारिक सुरुवात स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच गरेका हुन्। नयाँ व्यवस्था लागू भएसँगै भारतीय पर्यटक तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकले आफ्नो सवारीसाधनको अस्थायी इजाजत (Temporary Import Vehicle – TIV) अनलाइनमार्फत लिन सक्ने भएका छन्।
यसअघि यस्तो सुविधा उपलब्ध नहुँदा पर्यटकले भन्सार नाकामै पुगेर कागजी प्रक्रिया पूरा गर्नुपर्थ्यो। यात्रा अवधि सकिएपछि नवीकरणका लागि पुनः नाकामै जानुपर्ने वा जरिवाना तिर्नुपर्ने झन्झट थियो। तर, अब भने घरबाटै अनलाइन फाराम भरेर र शुल्क तिरेर सहज रूपमा नेपाल प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सीमाक्षेत्रमा पर्यटकले भोग्दै आएका प्रशासनिक झन्झट अब घट्ने विश्वास व्यक्त गरे। उनले सरकारी सेवा छरितो, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यअनुसार यस्तो प्रणाली कार्यान्वयनमा ल्याइएको बताए।
त्यस्तै, विभागका महानिर्देशक श्यामप्रसाद मैनालीले नयाँ प्रणालीसँगै विदेशी सवारीसाधनको अनुमति प्रक्रिया पूर्ण रूपमा डिजिटल बनेको जानकारी दिए। उनका अनुसार अब सवारीसाधनसम्बन्धी सम्पूर्ण विवरण अनलाइनमै स्वयं घोषणा गर्न सकिनेछ, जसले प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनेछ।
नयाँ व्यवस्थाअनुसार राजस्व भुक्तानी पनि अनलाइन वा बैंकमार्फत गर्न सकिनेछ। अनलाइनबाट शुल्क तिरेपछि सेवाग्राहीले आफ्नो इमेलमा क्यूआर कोड प्राप्त गर्नेछन्। सोही क्यूआर कोड देखाएर सवारीसाधन भन्सार नाका पार गरी नेपालभित्र प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।
भन्सार विभागका अनुसार उक्त क्यूआर कोड नै सवारीको अस्थायी इजाजतको आधार हुनेछ। यात्राका क्रममा आवश्यक परे सोही कोड देखाएर देशभर आवतजावत गर्न पाइनेछ। साथै, नेपालभित्रै बसेर अनलाइनमार्फत यात्रा अवधि थप गर्न सकिने सुविधा पनि समावेश गरिएको छ।
यो सेवा प्रयोग गर्न इच्छुकले विभागको वेबसाइटमा गई ‘हाम्रा सेवाहरू’ अन्तर्गत रहेको टीआईभी (TIV) मोड्युलमा प्रवेश गरेर आवश्यक विवरण भर्नुपर्नेछ। सबै प्रक्रिया पूरा भएपछि अन्तिम रूपमा क्यूआर कोड उपलब्ध गराइनेछ।
विभागका अनुसार यो प्रणाली नेपाल राष्ट्रिय एकद्वार प्रणालीअन्तर्गत विकास गरिएको हो, जसले विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहजता ल्याउने अपेक्षा गरिएको छ। प्रारम्भिक चरणमा यो सेवा विशेषगरी भारत र बंगलादेशबाट स्थलमार्ग हुँदै आउने पर्यटकका लागि उपयोगी हुने विश्वास गरिएको छ।
यद्यपि हाल चीनतर्फका नाकाबाट सवारीसहित पर्यटक आवागमन न्यून रहेकाले त्यहाँबाट आउनेहरूका लागि पनि आवश्यक परे यही प्रणाली लागू हुने विभागले जनाएको छ। सरकारले यसलाई डिजिटल सुशासनतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।
फाइल तस्बिर अर्थ मन्त्रालय
