काठमाडौं । सरकारले कुल १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजामती सेवा ऐन, २०४९ अन्तर्गत दर्ता भएका ८ वटा तथा स्वास्थ्य सेवा ऐन अन्तर्गत दर्ता भएका ४ वटा ट्रेड युनियनको दर्ता रद्द गरेको जनाएको छ।
यसअघि सरकारले केही नेपाल ऐन संशोधन गर्न ल्याएको अध्यादेशमार्फत दलगत आधारमा सञ्चालन भइरहेका निजामती कर्मचारी संगठन तथा राष्ट्रिय स्तरका ट्रेड युनियनहरू खारेज गर्ने व्यवस्था गरेको थियो। सोही प्रावधानअनुसार विभागको पञ्जिकाधिकारीले निर्णय गर्दै ती युनियनहरूको दर्ता खारेज गरेको हो।
निजामती क्षेत्रतर्फ खारेज गरिएका संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, एकीकृत सरकारी कर्मचारी संगठन नेपाल तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल रहेका छन्।
यस्तै, स्वास्थ्य सेवा ऐनअन्तर्गत दर्ता भएका नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल र राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको पनि दर्ता खारेज गरिएको विभागले जनाएको छ।