विश्वकै उत्कृष्ट लक्जरी होटलको सूचीमा शीर्ष स्थानमा ‘शिन्तामणि मुस्ताङ’
टुरिजमफेस
काठमाडौं । नेपालको हिमाली पर्यटन गन्तव्य मुस्ताङमा सञ्चालित विलासी रिसोर्ट ‘शिन्तामणि मुस्ताङ’ले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेको छ। प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन रोब रिपोर्ट ले सार्वजनिक गरेको ‘५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६’ सूचीमा यस रिसोर्टलाई विश्वकै नम्बर–एक लक्जरी होटलको रूपमा चयन गरेको हो।
विश्वभरका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै शिन्तामणि मुस्ताङले शीर्ष स्थान सुरक्षित गरेपछि नेपालको उच्चस्तरीय पर्यटन बजारले अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाएको छ।
कालीगण्डकी नदीको किनारमा अवस्थित यो रिसोर्ट प्रख्यात डिजाइनर बिल बेन्स्लीको अवधारणामा निर्माण गरिएको हो। स्थानीय ढुंगाको प्रयोग गरी तयार गरिएका भवनहरूले मुस्ताङको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई आधुनिक विलासितासँग जोड्ने प्रयास गरेका छन्। रिसोर्टका प्रत्येक कोठाबाट हिमाली दृश्यावलोकन गर्न सकिने व्यवस्था छ।
रोब रिपोर्टका अनुसार, शिन्तामणि मुस्ताङ केवल बसोबासको स्थान नभई शरीर, मन र आत्मालाई पुनः ऊर्जाशील बनाउने विश्रामस्थलका रूपमा परिचित छ। पाहुनाले कम्तीमा पाँच रात बस्नुपर्ने अवधारणाले यहाँको अनुभवलाई अझ गहिरो र अर्थपूर्ण बनाउने विश्वास गरिएको छ।
२९ कोठा रहेको यस रिसोर्टले पर्यटकलाई घोडचढी, आर्चरी, पदयात्रा तथा मुस्ताङका दुर्गम भूभागको अन्वेषणजस्ता गतिविधिमा सहभागी हुने अवसर प्रदान गर्छ। साथै, बोन बौद्ध परम्पराको केन्द्र मानिने करिब ८०० वर्ष पुरानो लुब्रा गाउँको भ्रमण यहाँको अर्को आकर्षण हो।
रिसोर्टमा परम्परागत तिब्बती आम्ची चिकित्सकमार्फत स्वास्थ्य तथा उपचारसम्बन्धी सेवा पनि उपलब्ध छ, जसले विलासी पर्यटनसँगै सांस्कृतिक र आध्यात्मिक अनुभवलाई समेत समेटेको छ।
रोब रिपोर्टले विश्वका विभिन्न गन्तव्यहरूको भ्रमण गरेका २४ जना यात्रा विज्ञ तथा समीक्षकको सिफारिस र प्रत्यक्ष अनुभवका आधारमा सूची तयार पारेको जनाएको छ। सेवा, व्यवस्थापन, स्थानको विशिष्टता, मौलिकता र समग्र अनुभवलाई मूल्यांकनको आधार बनाउँदा शिन्तामणि मुस्ताङ सबैभन्दा अगाडि परेको हो।
यस उपलब्धिले नेपाललाई साहसिक र सांस्कृतिक पर्यटन मात्र नभई उच्चस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा समेत विश्वमाझ स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ।
