ईपीएस आवेदकको भीड बढेपछि राहदानी सेवा विस्तारित, बिदाका दिन पनि खुला रहने
काठमाडौं । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आवेदन दिन चाहने युवाको संख्या बढेसँगै राहदानी विभागले सेवा समय विस्तार गरेको छ। सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले आगामी साउन १४ गतेदेखि २२ गतेसम्म विशेष कार्यतालिका लागू गर्ने जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा विद्युतीय राहदानीसम्बन्धी सेवा दैनिक दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरण बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म र दोस्रो चरण दिउँसो २ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गरिनेछ।
पछिल्ला दिनहरूमा विशेष गरी ईपीएस आवेदनका लागि राहदानी बनाउन आउनेको संख्या उल्लेख्य रूपमा बढेपछि अतिरिक्त समयसहितको व्यवस्था गरिएको विभागले जनाएको छ।
सेवाग्राहीलाई सहजता प्रदान गर्न शनिबार, आइतबार तथा अन्य सार्वजनिक बिदाका दिनमा समेत विभाग खुला रहनेछ। बिदाका दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म राहदानीसम्बन्धी सेवा उपलब्ध गराइनेछ।
दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि आवेदन दिन राहदानी अनिवार्य दस्तावेज भएकाले आवेदन अवधिमा बढेको भीडलाई ध्यानमा राखेर सेवा समय लम्ब्याइएको विभागको भनाइ छ।
राहदानी विभागले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै आवश्यक सेवामा कुनै अवरोध नआउने जनाएको छ।
