विकास र प्रविधिका अभ्यास बुझ्न रास्वपाका २० सांसद चीनतर्फ
काठमाडौं — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद तथा पदाधिकारी चीन भ्रमणमा निस्किएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल शनिबार चीन प्रस्थान गरेको हो।
११ दिनको भ्रमणका क्रममा टोलीले चीनका विभिन्न शहरको भ्रमण गरी विकास, प्रविधि, नवप्रवर्तन तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा भएका अभ्यासबारे अध्ययन गर्नेछ। टोलीमा रास्वपाका सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत छन्।
प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा चीनले प्रविधि, औद्योगिक विकास, कृषि, शिक्षा, स्वास्थ्य तथा उद्यमशीलताको क्षेत्रमा हासिल गरेका उपलब्धिबारे जानकारी लिने तयारी गरिएको छ।
रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख एवं भ्रमण टोलीका सदस्य आनन्दबहादुर चन्दले चीनको प्रविधि र विकासका अनुभवलाई नेपालको आवश्यकता अनुरूप कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरिने बताए।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ, डिजिटल प्रविधि, नवप्रवर्तन र औद्योगिक विकासका क्षेत्रमा चीनले अपनाएका नीति तथा संस्थागत अभ्यास भ्रमणको प्रमुख चासोका विषय हुन्। त्यस्ता अनुभवलाई कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा, औद्योगिक उत्पादन र उद्यमशीलता विकासमा उपयोग गर्ने सम्भावनाबारे पनि छलफल हुने उनले बताए।
टोलीका अर्का सदस्य डा. धनञ्जय रेग्मीले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप आत्मीय र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार भ्रमणबाट आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यका सम्भावना पहिल्याउन सकिनेछ।
रास्वपा नेताहरूले राजनीतिक सम्बन्ध विस्तारसँगै दुई देशबीच अनुभव आदानप्रदान र आगामी उच्चस्तरीय भ्रमणका लागि समेत भ्रमण उपयोगी हुने अपेक्षा गरेका छन्।
महामन्त्री आचार्यको नेतृत्वमा रहेको टोलीमा हरि ढकाल, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त बैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी छन्।
