सगरमाथा र ल्होत्सेका चिनियाँ आरोहीलाई सम्मान
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई सम्मान गरिएको छ ।
सन् २०२६ को मे १४ मा हिमालयन माउन्टेयरिङ एक्सपिडिसनमार्फत सगरमाथाको लगत्तै क्याम्प-२ झरेर मे १८ मा ल्होत्सेको समेत सफल आरोहण गर्ने चिनियाँ आरोही सी जुन्जी र नेपाली पथप्रदर्शक निङ्मा तामाङ र दावा नुरु राई शेर्पालाई सम्मान गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ को एउटै सिजनमा ‘नन–स्टप’ दुई हिमालको आरोहण गर्ने उनीहरुलाई आज सम्मान गरेका हुन् ।
अधिकांश आरोहीले सगरमाथाको आरोहणपछि क्याम्प–४ मा झरेर ल्होत्सेको आरोहण गर्दैआएको भए पनि सी जुन्जीको टोलीले भने क्याम्प–२ मा झरेर लोत्सेको आरोहण गरेको थियो ।
संयोजक दाहालले सी जुन्जीको टोलीको अदम्य साहस र अग्रगामी भावनाको उच्च प्रशंसा गरे । “सगरमाथा र ल्होत्सेको लगातार आरोहणले पर्वतारोहीको शारीरिक क्षमता, प्राविधिक सीप र मानसिक दृढताको कडा परीक्षा लिन्छ, सीको टोलीले विश्व पर्वतारोहणको सीमालाई थप फराकिलो बनाएको छ,” उनले भने ।
संयोजक दाहालले हिमालसँगको आफ्नो भावनात्मक सम्बन्ध रहेको बताए । आफ्नो छोरा प्रकाश दाहालले पनि सगरमाथा आरोहण गरेको स्मरण गर्दै उनले हिमाललाई सम्मान गर्ने र सुरक्षित आरोहण गर्ने प्रत्येक पर्वतारोहीप्रति आफ्नो गहिरो आदर रहेको बताए ।
पूर्वप्रधानमन्त्री दाहालले चीन र नेपालबीचको जनस्तरको पर्वतारोहण सम्बन्धले दुई देशको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । आरोही सी जुन्जीले आफ्नो ऐतिहासिक सफलतामा नेपाली पथप्रदर्शकको पूर्ण सहयोग रहेको बताए ।
उनले आगामी दिनमा पनि हिमालयन पर्वतारोहण र चीन–नेपालमैत्री सम्बन्धलाई थप उचाइमा पु¥याउन आफू लागि रहने प्रतिबद्धता जनाए ।
