संसदीय समितिमा आइजिपीको आपत्ति : तथ्यबिना आरोप लगाउँदा प्रहरीको मनोबल घट्छ
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले संसदीय समिति जस्तो जिम्मेवार निकायमा संस्थाको गरिमा र व्यक्तिको मर्यादामा असर पर्ने गरी अभिव्यक्ति दिन नहुने बताएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै आइजिपी कार्कीले लामो समयदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरिरहेका प्रहरी कर्मचारीमाथि आधारबिनै आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाए।
उनले कुनै कर्मचारी वा संस्थाविरुद्ध उजुरी परेकै आधारमा त्यसलाई तत्काल दोषीका रूपमा प्रस्तुत गर्न नहुने बताए। प्रहरी संगठनसम्बन्धी विभिन्न उजुरी र निवेदन आउने गरेको उल्लेख गर्दै उनले प्रत्येक विषयलाई तथ्य र प्रमाणका आधारमा छुट्टाछुट्टै हेर्नुपर्ने धारणा राखे।
जिम्मेवार सार्वजनिक पदमा रहेका व्यक्तिले बोल्दा शब्द र शैलीप्रति संवेदनशील हुनुपर्नेमा जोड दिँदै कार्कीले तथ्यहीन वा मनोगत आरोपले वर्षौंसम्म सेवामा खटिएका कर्मचारीको मनोबलमा नकारात्मक असर पार्न सक्ने बताए।
उनले संसदीय समितिको बैठकलाई आरोप–प्रत्यारोप गर्ने थलोका रूपमा प्रयोग गर्न नहुने संकेत गर्दै संस्थागत मर्यादा कायम राख्नुपर्ने धारणा व्यक्त गरे।
‘आजसम्म निष्ठापूर्ण काम गरेको मान्छेलाई यहाँ ल्याएर जे मन लाग्यो त्यही भन्नु उचित होइन। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा हुन्छ,’ उनले भने, ‘हाम्रा पनि निवेदन परेका छन्। सबैका निवेदन यसरी नै आउँदा गाह्रो हुन्छ।’
कार्कीले आफूले नेतृत्व गरिरहेको संगठनप्रति उठेका प्रश्न र उजुरीको निष्पक्ष रूपमा अध्ययन तथा छानबिन हुनुपर्ने बताए। साथै, छलफलका क्रममा शिष्टता र तथ्यमा आधारित बहसलाई प्राथमिकता दिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराए।
बैठकमा सांसद खगेन्द्र सुनारलगायतले नेपाल प्रहरीको कामकारबाही र संगठनसँग सम्बन्धित विषयमा प्रश्न तथा आरोप उठाएका थिए।
