दुई दशकपछि राहुघाट जलविद्युत् आयोजना तयार
म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ। आयोजनाले अब विद्युत् उत्पादन परीक्षणको अन्तिम चरण अघि बढाएको छ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनामा बाँध, डिसेन्डर, मुख्य सुरुङ, विद्युत्गृह, स्विचयार्डलगायतका संरचना निर्माण तथा उपकरण जडानको काम पूरा भएको हो।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार आयोजनाको २० मेगावाट क्षमताको एउटा युनिटको परीक्षण सम्पन्न भइसकेको छ भने अर्को युनिटको परीक्षण पनि सुरु भएको छ। परीक्षण करिब एक सातादेखि १० दिनसम्म चल्ने र त्यसपछि व्यावसायिक विद्युत् उत्पादनतर्फ जाने तयारी छ।
रघुगङ्गा–४ दग्नाम र वडा नं. ५ झिँको फेदीमा बाँध निर्माण गरिएको छ। आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा दुईवटा पानी थिग्र्याउने पोखरीको परीक्षणसमेत पूरा भइसकेको छ। तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा जडान गरिएका उपकरणको परीक्षण भइरहेको छ।
आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा छ। राहुघाटको विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी डबल सर्किट दाना–कुश्मा प्रसारण लाइनमा लिलोमार्फत जोडिनेछ। यसका लागि चारवटा टावरसहित प्रसारण संरचना तयार भइसकेको छ।
राहुघाटको निर्माण यात्रा भने लामो र उतारचढावपूर्ण रह्यो। भारतीय कम्पनी जयप्रकाश एसोसिएट्सले सन् २०१७ नोभेम्बरमा करिब रु. ६ अर्बमा सिभिल निर्माणको ठेक्का पाएको थियो। आयोजनाको काम सुरुमा निर्धारित समयमै पूरा हुन नसकेपछि पटक–पटक म्याद थप गरिएको थियो।
कोरोना महामारी, बाढीपहिरो, प्राकृतिक विपद् तथा नदीजन्य निर्माण सामग्रीको अभावले आयोजना निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ। यसअघि कमजोर आर्थिक अवस्थाका कारण पुरानो ठेकेदार आइभिआरसीएलसँगको ठेक्का २०७२ सालमा तोडिएको थियो।
आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग करिब १० करोड २९ लाख अमेरिकी डलरको सम्झौता गरिएको थियो। भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना अघि बढाइएको हो।
राहुघाटले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसले राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा आपूर्ति गर्नुका साथै म्याग्दीको जलविद्युत् विकासमा समेत महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार राहुघाट आयोजना जिल्लामा सरकारी लगानीबाट अघि बढाइएको प्रमुख जलविद्युत् आयोजना हो। उनका अनुसार राहुघाट निर्माण प्रक्रिया अघि बढेसँगै जिल्लामा अन्य जलविद्युत् आयोजनाले पनि गति लिएका छन्।
करिब दुई दशक लामो प्रतीक्षापछि आयोजना उत्पादनको चरणमा प्रवेश गर्न लागेकाले म्याग्दीमा जलविद्युत् क्षेत्रको विकाससँगै स्थानीय अर्थतन्त्रमा समेत थप गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
