जय नेपाल पार्टीले बनायो वार्ता समिति
काठमाडौं । जय नेपाल पार्टीले समान विचारधारा भएका दल, संगठन, समूह, अभियान तथा व्यक्तिलाई पार्टीमा समेट्ने उद्देश्यले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।
केन्द्रीय कार्यसमितिको भदौ ४ गते काठमाडौंमा बसेको बैठकको निर्णयअनुसार समिति गठन गरिएको हो । समितिको संयोजकमा नारायण कोइराला छन् । सदस्यहरूमा सुरेशप्रसाद आचार्य, प्रज्ज्वल बोहरा, अञ्जना शाह रावल तथा होमनाथ गौतम रहेका छन् ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार समितिले अब सम्बन्धित दल, समूह, अभियान तथा व्यक्तिसँग एकता र सहकार्यका विषयमा वार्ता अघि बढाउनेछ ।
पार्टीले समान विचार भएका शक्तिहरूलाई एकै ठाउँमा ल्याउने नीति लिएसँगै वार्ता समितिलाई त्यसका लागि औपचारिक संवाद अघि बढाउने जिम्मेवारी दिइएको हो ।
