भूकम्पपछि हिमपहिरो
काठमाडौं । तिब्बती क्षेत्रमा गएको भूकम्पपछि हिमपहिरो खस्दा त्यसको प्रभावस्वरूप रसुवालगायतका क्षेत्रमा बाढी आएको हुनसक्ने प्रारम्भिक जानकारी सरकारले संसदमा दिएको छ।
प्रतिनिधि सभाको बैठकमा घटनाबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले बिहान ८ बजेर ३७ मिनेटतिर सम्बन्धित क्षेत्रमा भूकम्प गएको सूचना प्राप्त भएको बताए। त्यसको केही समयपछि करिब ८ः४० बजे बाढी आएको प्रारम्भिक विवरण सरकारलाई प्राप्त भएको उनको भनाइ छ।
मन्त्री खनालका अनुसार भूकम्पका कारण हिमपहिरो झरेपछि बाढी आएको हुनसक्ने देखिएको छ। यद्यपि घटनाको वास्तविक कारण र क्षतिको अवस्था यकिन गर्न थप विवरण तथा स्थलगत प्रमाणीकरण आवश्यक रहेको उनले बताए।
बाढीबाट रसुवाको टिमुरे र स्याफ्रुबेसी तथा नुवाकोटको त्रिशूली, बेत्रावती र बट्टार क्षेत्रमा क्षति पुगेको सरकारले जनाएको छ।
घटनामा केही नेपालीको ज्यान गएको प्रारम्भिक जानकारीसमेत प्राप्त भएको मन्त्री खनालले संसदलाई जानकारी दिए। सरकारले उद्धार, क्षतिको विवरण संकलन तथा घटनाको वास्तविक कारणबारे थप जानकारी लिने काम अघि बढाइरहेको जनाएको छ।
भूकम्पपछि हिमपहिरो र त्यसबाट आएको बाढीले नदी आसपासका बस्ती तथा पूर्वाधारमा जोखिम बढाएकाले प्रभावित क्षेत्रमा सतर्कता आवश्यक देखिएको छ।
