उत्पादन सुरु गर्नै लाग्दा बाढीले लाङटाङ खोला आयोजना ध्वस्त, ६० जना बेपत्ता
नुवाकोट, १० भदौः ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
काठमाडौं । विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारीमा रहेको रसुवाको निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसीमा आएको भीषण बाढीको चपेटामा परेको छ। बाढीले आयोजनाको पावर हाउस पूर्णरूपमा बगाएको छ भने सुरुङभित्र कार्यरत करिब ६० कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान तिब्बततर्फबाट भोटेकोसी नदीमा आएको बाढीले आयोजना क्षेत्रमा ठूलो क्षति पुर्याएको हो। आयोजना निर्माण गरिरहेको मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कर्मचारी तथा मजदुरहरू सुरुङभित्र कंक्रिट ढलानको काममा खटिएका थिए।
आयोजनामा कम्पनीका इन्जिनियर, ओभरसियर, सुरक्षा गार्ड र भान्छेसहित २५ जना कर्मचारी तथा पेटी ठेकेदारमार्फत करिब ३५ जना मजदुर कार्यरत थिए। बाढी आएपछि उनीहरू कसैसँग पनि सम्पर्क हुन नसकेको भट्टराईले बताए।
लाङटाङ खोला जलविद्युत् आयोजना करिब एक सातापछि विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने तयारीमा थियो। आयोजनाको पावर हाउसमा बाढीले कुनै संरचना बाँकी नरहने गरी क्षति पुर्याएको बताइएको छ।
भट्टराईका अनुसार बाढीको पानी प्राकृतिक जलसतहभन्दा करिब १२५ मिटर माथिसम्म पुगेको थियो। उनले घटनालाई सामान्य बाढी नभई अत्यन्त ठूलो प्राकृतिक विपत्तिको रूपमा वर्णन गरेका छन्।
उनले अहिले आयोजनाको भौतिक क्षतिको मूल्यांकनभन्दा सम्पर्कविहीन कर्मचारी र मजदुरको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन्।
‘आयोजना पुनः निर्माण गर्न सकिन्छ, तर मानवीय क्षति अपूरणीय हुन्छ,’ भट्टराईले भने। बाढीपछि आयोजनाको क्षतिको पूर्ण विवरण आउन बाँकी रहे पनि ठूलो भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
नुवाकोट, १० भदौः ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र रसुवाको कोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं १ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको प्रभावित क्षेत्र । तस्बिरः रामहरि न्यौपाने/रासस
