रसुवा–नुवाकोट–धादिङमा बाढीले ३२ पुल बगायो
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा सडक सञ्जालका महत्वपूर्ण ३२ वटा पुल पूर्ण रूपमा बगाएको छ। सडक विभागको पछिल्लो विवरणअनुसार बाढीबाट थप तीन पुलमा आंशिक क्षति पुगेको छ भने जोखिममा रहेका ६ पुल भने हालसम्म जोगिएका छन्।
सबैभन्दा धेरै क्षति नुवाकोटमा भएको छ। त्यहाँ १४ वटा पुल पूर्ण रूपमा ध्वस्त भएका छन्। रसुवामा १३ र धादिङमा पाँचवटा पुल बाढीले बगाएको सडक विभागले जनाएको छ।
रसुवामा १३ पुल बगे
भोटेकोशी र आसपासका नदीमा आएको बाढीले रसुवाका विभिन्न सडकखण्डका पुलमा ठूलो क्षति पुर्याएको छ। रसुवामा बगेका पुलमा रसुवागढीको मितेरी पुल, टिमुरेका दुई पुल, चिलिमेको भोटेकोशी पुल, चिलिमे खोला पुल, स्याफ्रुबेँसीका पुल तथा भोटेकोशी र मैलुङ क्षेत्रका विभिन्न बेलिब्रिज र अन्य पुल रहेका छन्।
नुवाकोटमा सबैभन्दा धेरै क्षति
नुवाकोटमा बेत्रावतीदेखि देवीघाट र त्रिशूली आसपासका सडकमा रहेका १४ पुल बाढीले बगाएको छ।
ध्वस्त हुनेमा बेत्रावतीका पुराना तथा नयाँ पुल, तुप्चेस्थित त्रिशूली नदी पुल, त्रिशूली बजारका दुई पुल, सिमचौर पुल, देवीघाट क्षेत्रका पुल तथा ताँदी खोलाका दुई पुल छन्।
त्यसैगरी श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार क्षेत्रमा रहेका त्रिशूली नदीका पुलसमेत बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
धादिङमा पाँच पुल पूर्ण क्षतिग्रस्त
धादिङमा पाँचवटा पुल पूर्ण रूपमा बगेका छन्। स्याल्टार सडक पुल, घाटबेँसी पुल, मलेखुको फुर्के खोला पुल तथा कोल्पु खोलाका दुई पुलमा बाढीले पूर्ण क्षति पुर्याएको छ।
त्यहाँका मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुलमा भने आंशिक क्षति पुगेको छ।
मुख्य राजमार्गमा यातायात चुनौती
पुलहरू बग्दा रसुवा, नुवाकोट र धादिङ हुँदै सञ्चालन हुने सडक यातायातमा गम्भीर असर परेको छ। नदी कटान र पुल क्षतिका कारण कतिपय क्षेत्रमा सडक सम्पर्क नै विच्छेद भएको छ भने वैकल्पिक मार्ग खोज्नुपर्ने अवस्था आएको छ।
यद्यपि धादिङ–चितवन खण्डका केही महत्वपूर्ण पुल भने बाढीबाट जोगिएका छन्। गल्छी आसपासको भीमढुंगा–लामीडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुल सुरक्षित रहेको विभागको विवरणमा उल्लेख छ।
बाढीले पुलसँगै सडक, जलविद्युत् आयोजना र अन्य पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएकाले प्रभावित क्षेत्रको यातायात पूर्ववत् सञ्चालन गर्न तत्काल अस्थायी संरचना निर्माणदेखि दीर्घकालीन पुनर्निर्माणसम्मको काम आवश्यक देखिएको छ।
