दक्षिण एसियाको पर्यटन प्रवर्द्धनमा नयाँ जिम्मेवारी, सार्क पर्यटन समितिको संयोजक बने ढकाल
काठमाडौं । दक्षिण एसियाली मुलुकबीच पर्यटन सहकार्य विस्तार गर्ने जिम्मेवारीसहित चन्द्रप्रसाद ढकाल सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजक चयन भएका छन्।
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समिति बैठकले ढकाललाई पर्यटन समितिको संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकाल आईएमई ग्रुपका अध्यक्ष हुन्। पर्यटन तथा आतिथ्य क्षेत्रमा समेत लगानी गर्दै आएका उनले चन्द्रागिरि हिल्ससहित विभिन्न पर्यटन पूर्वाधार तथा होटल व्यवसायमा संलग्नता जनाउँदै आएका छन्।
जिम्मेवारी पाएपछि ढकालले दक्षिण एसियालाई छुट्टाछुट्टै गन्तव्यका रूपमा नभई एकीकृत पर्यटन क्षेत्रका रूपमा विकास गर्नुपर्ने धारणा अघि सारेका छन्। उनका अनुसार हिमाल, समुद्र, वन्यजन्तु, धार्मिक तथा ऐतिहासिक सम्पदा र विविध संस्कृतिले दक्षिण एसियालाई विश्व पर्यटन बजारमा विशिष्ट क्षेत्रका रूपमा स्थापित गर्ने पर्याप्त आधार दिएको छ।
सगरमाथादेखि हिन्द महासागरका टापु तथा समुद्री तटसम्म फैलिएको भौगोलिक विविधता र धार्मिक–सांस्कृतिक सम्पदालाई जोडेर नयाँ पर्यटन उत्पादन विकास गर्न सकिने उनको भनाइ छ।
विश्वको ठूलो जनसंख्या रहेको दक्षिण एसिया आफैंमा विशाल पर्यटन बजार भएकाले यस क्षेत्रभित्रकै पर्यटकलाई आकर्षित गर्ने रणनीति आवश्यक रहेको ढकालले बताएका छन्। त्यसका लागि पर्यटन पूर्वाधारमा लगानी बढाउनुका साथै मुलुकहरूबीच आवागमन सहज बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
ढकालले ‘सार्कभित्रै घुमौँ’ भन्ने अवधारणामा आधारित क्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका छन्। विभिन्न मुलुकका प्रमुख गन्तव्यलाई समेटेर साझा पर्यटन सर्किट तथा प्याकेज तयार गर्न सके धार्मिक, सांस्कृतिक, साहसिक र पर्यावरणीय पर्यटनमा नयाँ सम्भावना खोल्न सकिने उनको धारणा छ।
क्षेत्रीय पर्यटनको विस्तारका लागि सहज कनेक्टिभिटीलाई उनले अर्को महत्वपूर्ण आधारका रूपमा अघि सारेका छन्। सार्क राष्ट्रका प्रमुख सहरबीच प्रत्यक्ष हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटकसँगै व्यवसायी र लगानीकर्ताको आवागमनसमेत बढ्ने उनको विश्वास छ।
नेपालका अन्तर्राष्ट्रिय विमानस्थललाई सार्क क्षेत्रका प्रमुख पर्यटन गन्तव्यसँग प्रत्यक्ष हवाई सञ्जालमा जोड्न सके नेपालले पनि क्षेत्रीय पर्यटनबाट ठूलो लाभ लिन सक्ने ढकालले बताएका छन्।
उनले दक्षिण एसियामा पर्यटन पूर्वाधार निर्माण तथा होटल–आतिथ्य क्षेत्रमा अन्तरदेशीय लगानी बढाउनुपर्नेमा समेत जोड दिएका छन्। उनका अनुसार लगानीसँगै प्रविधि, सीप र व्यवस्थापकीय अनुभव आदान–प्रदान हुने भएकाले यसले समग्र क्षेत्रको पर्यटन उद्योगलाई थप प्रतिस्पर्धी बनाउन सक्छ।
क्षेत्रीय पर्यटन विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै ढकालले सार्क चेम्बरलाई नीतिगत समन्वय र व्यावसायिक साझेदारीको प्रभावकारी माध्यमका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो कार्यकालमा दक्षिण एसियालाई साझा पर्यटन बजारका रूपमा विकास गर्ने र क्षेत्रीय समृद्धिमा पर्यटनको योगदान बढाउने दिशामा परिणाममुखी पहल गर्ने बताएका छन्।
