बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले दियो ४ करोड १ लाख
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको खोजी तथा उद्धारसँगै राहत वितरण र पुनर्स्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराइएको हो ।
बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बैंकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
त्यस्तै, बाढीपछि अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार हुनुपर्ने तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि बैंकले गरेको छ ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा निजी सम्पत्तिमा समेत ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।
