बाढीमा ज्यान गुमाएकामध्ये ४ प्रतिशतको मात्रै पहिचान, शव सनाखतमा देखियो यस्तो जटिलता
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि विभिन्न नदी तथा खोलाका किनारबाट ठूलो संख्यामा शव तथा मानव शरीरका अंगहरू फेला परिरहेका छन् । तर तीमध्ये निकै कमको मात्रै पहिचान हुन सकेको छ ।
हालसम्म संकलन गरिएका ७ सय ६८ शवमध्ये ३४ जनाको मात्रै सनाखत भएको छ । अर्थात् पहिचान खुलेका शवको संख्या कुल संकलित शवको करिब ४.४२ प्रतिशत मात्रै हो ।
बाढीले शवलाई घटनास्थलभन्दा निकै टाढा पुर्याएका कारण पहिचानमा मुख्य समस्या देखिएको प्रहरीको भनाइ छ । रसुवामा बाढीमा परेका व्यक्तिका शव त्रिशूली, नारायणी हुँदै गोरखा, चितवन तथा नवलपरासीसम्म भेटिएका छन् । यस्तो अवस्थामा आफन्तले शव पहिचान गर्न सम्बन्धित स्थानसम्म पुग्नसमेत कठिनाइ भइरहेको छ ।
टुक्राटुक्रा अवस्थामा भेटिँदा थप कठिन
प्रहरीका अनुसार अधिकांश शव नदीको तीव्र बहावका कारण क्षतविक्षत अवस्थामा भेटिएका छन् । कतिपय स्थानमा पूरा शव नभई हात, खुट्टा, टाउको, छाती, कम्मर वा शरीरका अन्य भाग मात्रै फेला परेका छन् ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार घटनास्थल र शव भेटिएको स्थान फरक हुँदा फोटो तथा अन्य विवरण मिलाउन कठिन भइरहेको छ । परिवारका सदस्यले कपडा, अनुहार, ट्याटु, कोठी वा शरीरमा रहेका अन्य विशेष चिन्हका आधारमा सनाखत गर्ने प्रयास भए पनि क्षतविक्षत शवका कारण त्यो सम्भव हुन सकेको छैन ।
प्रहरीले फेला परेको शरीरको अंगलाई समेत छुट्टै अभिलेख राखेर सुरक्षित गरिरहेको जनाएको छ । पहिचानका लागि सबै शव तथा फेला परेका अंगबाट डीएनए नमुना संकलन गरिएको प्रहरीको भनाइ छ ।
चितवन र नवलपरासीमा धेरै शव
चितवनमा मात्रै २ सय ५९ शव फेला परेका छन् । तीमध्ये ९ जनाको मात्र पहिचान भएको छ । पहिचान नभएका ९६ शव देवघाट क्षेत्रमा माटोमुनि भण्डारण गरिएको छ ।
पूर्वी नवलपरासीमा १ सय ६८ शव फेला परेकोमा ९ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । नारायणी नदी किनारबाट शरीरका विभिन्न अंगसमेत ठूलो संख्यामा संकलन गरिएको छ । स्थानीय प्रशासनले पहिचान नभएका शवलाई ट्याग लगाएर माटोमुनि सुरक्षित राखेको छ ।
गोरखाको त्रिशूली किनारबाट ५८ शव संकलन गरिए पनि तीन जनाको मात्रै पहिचान खुलेको छ । पहिचान हुन नसकेका शरीरका अंगमध्ये २९ वटा बुंकोट घाट क्षेत्रमा माटोमुनि भण्डारण गरिएको छ ।
रसुवामा भने बाढीको मुख्य प्रभावित क्षेत्र भए पनि फेला परेका शवमध्ये हालसम्म तीन जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ ।
डीएनए नमुना सुरक्षित, पहिचान खुलेपछि आफन्तलाई बुझाइने
ठूलो संख्यामा शव फेला परेपछि तत्काल खुला स्थानमा राख्दा संक्रमण फैलिन सक्ने जोखिम रहेकाले पहिचान नखुलेका शवलाई निश्चित प्रक्रिया पूरा गरी माटोमुनि सुरक्षित राखिएको प्रहरीको भनाइ छ ।
प्रहरीले शवको नम्बरिङ, ट्यागिङ, फोटो, मुचुल्का तथा उपलब्ध भएसम्म औंठाछाप र डीएनए नमुना सुरक्षित राखिरहेको जनाएको छ । पहिचान खुलेपछि सम्बन्धित शव वा शरीरका अंग निकालेर कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी छ ।
प्रहरीका अनुसार हालसम्म पूर्वी नवलपरासीमा करिब १ सय, चितवनमा ९६ र गोरखामा २९ गरी कम्तीमा २ सय २५ शव तथा शरीरका अवशेष माटोमुनि भण्डारण गरिएको छ । पश्चिम नवलपरासीमा पनि ठूलो संख्यामा शव फेला परेकाले व्यवस्थापनको तयारी भइरहेको छ ।
बाढीमा ज्यान गुमाउनेको संख्या बढ्दै जाँदा पहिचान नखुलेका शवको संख्या पनि थपिन सक्ने भएकाले प्रहरीले आफन्तबाट प्राप्त विवरण, फोटो तथा शारीरिक पहिचानका संकेत संकलन गर्ने र आवश्यक परे डीएनए परीक्षणमार्फत सनाखत गर्ने प्रक्रिया अघि बढाएको छ ।
