बेपत्ता पर्यटकको खोजी र सूचना व्यवस्थापनका लागि पर्यटन बोर्डमा छुट्टै डेस्क
काठमाडौं— भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका पर्यटकको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डमा छुट्टै सूचना डेस्क स्थापना गरिने भएको छ।
बाढीपछि बेपत्ता पर्यटकको खोजी, उद्धार र उनीहरूबारे आधिकारिक सूचना आदानप्रदानलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन क्षेत्रका सरकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिबीच भएको बैठकले यस्तो निर्णय गरेको हो।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने र नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरको नेतृत्वमा भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटक प्रहरीसहित होटल, ट्राभल तथा ट्रेकिङ क्षेत्रका विभिन्न संघसंस्थाका करिब ४० प्रतिनिधि सहभागी थिए।
उद्धार र बेपत्ताको विवरण एउटै डेस्कबाट
बैठकले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटक प्रहरी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल संघ नेपाल (हान), होटल प्रोफेसनल फेडेरेसन नेपाल तथा कैलाश–मानसरोवर टुर अपरेटरका प्रतिनिधि सम्मिलित सूचना डेस्क गठन गर्ने निर्णय गरेको छ।
उक्त डेस्कले बाढी प्रभावित क्षेत्रको अवस्था, उद्धार गरिएका पर्यटक तथा अझै सम्पर्कविहीन रहेकाहरूको विवरण नियमित रूपमा सार्वजनिक गर्नेछ। यसबाट पर्यटकका परिवार, सम्बन्धित ट्राभल कम्पनी तथा विदेशी कूटनीतिक नियोगलाई आधिकारिक सूचना प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
ट्राभल कम्पनीलाई प्रमाणित विवरण दिन आग्रह
बैठकले टुर तथा ट्राभल कम्पनीहरूलाई आफ्ना सम्पर्क व्यक्तिमार्फत बेपत्ता पर्यटकको प्रमाणित विवरण उपलब्ध गराउन आग्रह गरेको छ। साथै, सम्बन्धित देशका दूतावाससँग आवश्यक समन्वय गर्न पनि कम्पनीहरूलाई भनिएको छ।
बेपत्ता पर्यटकका परिवारलाई सही र अद्यावधिक सूचना उपलब्ध गराउने जिम्मेवारी सम्बन्धित टुर तथा ट्राभल कम्पनीमार्फत व्यवस्थित गर्ने निर्णय भएको छ।
विपद् प्राधिकरणमा पनि छुट्टै संयन्त्र प्रस्ताव
पर्यटकको उद्धार, बेपत्ता तथा मृत्यु पुष्टि भएका व्यक्तिसम्बन्धी विवरणलाई एउटै प्रणालीमा संकलन र व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा समेत छुट्टै संयन्त्र स्थापना गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय भएको छ।
यसैगरी, बाढीका कारण क्षतिग्रस्त पर्यटन पूर्वाधारको विवरण मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराउन पर्यटन व्यवसायीलाई आग्रह गरिएको छ।
पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायलाई समन्वय संयन्त्रमार्फत प्रमाणित र समयमै सूचना उपलब्ध गराउन तथा अपुष्ट विवरण सार्वजनिक नगर्न अनुरोध गरेको छ।
