कृषि विकास बैंकको ढुंगे शाखाबाट डेढ करोडभन्दा बढी नगद, सुन र महत्वपूर्ण कागजात सुरक्षित
काठमाडौं— भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त नुवाकोटको त्रिशूलीस्थित कृषि विकास बैंकको ढुंगे शाखाबाट नेपाल प्रहरीले ठूलो परिमाणमा नगद, सुन तथा महत्वपूर्ण कागजात सुरक्षित रूपमा बाहिर निकालेको छ।
बाढीका कारण बैंकको शाखा भवनमा गम्भीर क्षति पुगेपछि आइतबार प्रहरीले उद्धार तथा सुरक्षाको काम अघि बढाएको हो। प्रहरीका अनुसार शाखाबाट करिब डेढ करोड रुपैयाँभन्दा बढी नगद, सुन तथा महत्वपूर्ण बैंकिङ कागजात सुरक्षित गरिएको छ।
बाढीले बैंकको आफ्नै भवनमा रहेको शाखा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो। प्रारम्भिक अनुमानअनुसार शाखामा करिब ५० करोड रुपैयाँ बराबरको सम्पत्ति तथा सामग्रीमा क्षति पुगेको छ। शाखामा रहेका ६४ वटा लकरसमेत बाढीले बगाएको वा क्षतिग्रस्त भएको अनुमान गरिएको छ।
बाढी आउँदा बैंकको एटीएममा ५ लाख ६५ हजार रुपैयाँ, भल्टमा १ करोड ७१ लाख २१ हजार रुपैयाँ तथा क्यास काउन्टरमा ४२ लाख रुपैयाँ नगद रहेको विवरण सार्वजनिक भएको छ।
प्रहरीको टोलीले शाखामा रहेका नगद, सुन तथा अन्य महत्वपूर्ण कागजात खोजी गरी सुरक्षित स्थानमा सारेको हो।
१६ बैंक शाखा पूर्ण क्षतिग्रस्त
रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरू पनि बाढीबाट ठूलो प्रभावित भएका छन्। बाढीका कारण विभिन्न वाणिज्य बैंकका १६ वटा शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ।
बैंकका शाखा, कर्मचारी तथा सुरक्षा गार्डसमेत बाढीको चपेटामा परेका छन्। हालसम्म विभिन्न बैंकमा कार्यरत २७ जना कर्मचारी सम्पर्कविहीन रहेको विवरण छ।
यसैगरी, काठमाडौंँबाट गोसाइँकुण्ड भ्रमणमा गएका मुक्तिनाथ विकास बैंकका दुई कर्मचारी तथा लघुवित्त संस्थाका कर्मचारीसमेत गरी थप चार जना सम्पर्कविहीन रहेको बताइएको छ।
यससँगै बाढीपछि बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत ३१ जना कर्मचारी सम्पर्कविहीन रहेको बैंकिङ क्षेत्रको विवरणमा उल्लेख छ।
बाढीले बैंकका भौतिक संरचना, नगद, लकर, अभिलेख तथा अन्य सामग्रीमा क्षति पुर्याएपछि बाँकी सम्पत्ति र महत्वपूर्ण कागजात सुरक्षित गर्ने कामलाई प्राथमिकता दिइएको छ।
