रसुवा बाढीपछि बैंकको जलविद्युत् कर्जामा दबाब, साढे ६ अर्ब लगानी जोखिममा
काठमाडौं । भदौ १० गते आएको बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा क्षति पुर्याएपछि वाणिज्य बैंकहरूको करिब साढे ६ अर्ब रुपैयाँ कर्जा लगानी जोखिममा परेको छ ।
नेपाल बैंकर्स संघको प्रारम्भिक अध्ययनअनुसार बैंकहरूले लगानी गरेका चार ठूला जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन् । ती आयोजनामा एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक र नबिल बैंकको नेतृत्वमा कर्जा प्रवाह भएको थियो ।
बाढीबाट रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजना प्रभावित भएको छ । उक्त आयोजनामा एनएमबी बैंकको नेतृत्वमा बैंकहरूको २५ करोड ८० लाख रुपैयाँ संयुक्त कर्जा लगानी रहेको संघले जनाएको छ ।
त्यस्तै, २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ । उक्त आयोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।
नुवाकोटको ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना पनि बाढीबाट प्रभावित भएको छ । सो आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानी रहेको थियो ।
त्यसैगरी रसुवागढी जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ । उक्त आयोजनामा नबिल बैंकको ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी रहेको संघको विवरण छ ।
आठमध्ये चार आयोजना प्रभावित
बैंकर्स संघका अनुसार रसुवा, नुवाकोट र धादिङमा वाणिज्य बैंकहरूको लगानी रहेका आठ जलविद्युत् आयोजना छन् । तीमध्ये चार ठूला आयोजना पछिल्लो बाढीबाट प्रभावित भएका हुन् ।
बाढीले क्षति नपुर्याएका आयोजनामा ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ, हिरारत्न हाइड्रो र प्राइम हाइड्रोपावर रहेका छन् ।
ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रोपावर आयोजना निर्माणाधीन अवस्थामा छन् र तिनमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लगानी छ । प्राइम हाइड्रोपावरमा प्रभु बैंकको वित्तीय लगानी रहेको छ ।
कुन बैंकको कति जोखिम, अझै यकिन छैन
क्षति भएका कतिपय आयोजनामा एकभन्दा बढी बैंकको संयुक्त लगानी रहेको हुँदा कुन बैंकको कति रकम प्रत्यक्ष जोखिममा परेको छ भन्ने विस्तृत विवरण अझै तयार भइसकेको छैन ।
बैंकर्स संघले प्रारम्भिक तथ्यांक संकलन गरिरहेको जनाएको छ ।
जलविद्युत् आयोजना परियोजनामा आधारित कर्जा हुने भएकाले उत्पादन, संरचना र आम्दानीमा क्षति पुग्दा बैंकको कर्जा असुलीमा समेत असर पर्न सक्ने देखिएको छ ।
अनिवार्य कर्जाले ऊर्जा क्षेत्रमा बढेको थियो बैंकको जोखिम
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल कर्जाको निश्चित हिस्सा ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । हाल कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने प्रावधानका कारण बैंकहरूले जलविद्युत् आयोजनामा लगानी बढाउँदै आएका छन् ।
बैंकहरूका लागि जलविद्युत् लगानी आकर्षक क्षेत्र भए पनि यसको भौगोलिक तथा प्राकृतिक जोखिम उच्च रहेको बैंकरहरू बताउँछन् ।
पहाडी तथा हिमाली क्षेत्रमा निर्माण हुने अधिकांश जलविद्युत् आयोजना बाढी, पहिरो, हिमताल विस्फोट, भूक्षय तथा नदीको बहाव परिवर्तनजस्ता प्राकृतिक जोखिमको सामना गरिरहेका हुन्छन् ।
एक बैंकरका अनुसार ऊर्जा क्षेत्रमा अनिवार्य लगानीको व्यवस्था भएकाले बैंकहरूले जोखिम बुझेरै पनि ठूलो परिमाणमा कर्जा प्रवाह गर्दै आएका छन् ।
बाढीपछि जलविद्युत् कर्जामा थप सतर्कता
पछिल्लो रसुवा बाढीले जलविद्युत् आयोजनामा प्राकृतिक प्रकोपबाट हुने जोखिम फेरि उजागर गरेको छ ।
आयोजनाको भौतिक संरचना मात्र नभई विद्युत् उत्पादन अवरुद्ध हुँदा आम्दानी प्रभावित हुने र त्यसको प्रत्यक्ष असर ऋण तिर्ने क्षमतामा पर्न सक्ने भएकाले बैंकहरू थप सतर्क बन्नुपर्ने अवस्था देखिएको छ ।
बैंकरहरूका अनुसार आगामी दिनमा जलविद्युत् क्षेत्रमा कर्जा प्रवाह गर्दा बीमा, जोखिम मूल्यांकन, विपद् प्रतिरोधी संरचना र परियोजनाको भौगोलिक अवस्थालाई अझ कडाइका साथ हेर्नुपर्ने हुन सक्छ ।
रसुवा बाढीले यसपटक जलविद्युत् आयोजनाको संरचनामा मात्र क्षति पुर्याएको छैन, ऊर्जा क्षेत्रमा बढ्दै गएको बैंकिङ लगानीको जोखिमसमेत सतहमा ल्याएको छ ।
