प्राकृतिक विपत्तिपछि पुनरुत्थान : समृद्ध पर्यटन र सुदृढ भविष्यमा चोट
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो। घरबाट निकालिएका शव आज हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर : रासस
काठमाडौं । प्राकृतिक विपत्तिका अगाडि मानिस निसहाय बन्छ, तर उसको अदम्य साहस, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित हुँदैन । प्रकृतिको अनुपम वरदान, हिमशृङ्खलाहरूको काख र अद्वितीय संस्कृतिको धनी हाम्रो देश आज फेरि एकपटक प्रकृतिको कठोर परीक्षाबाट गुजरिरहेको छ । अविरल वर्षा, विनाशकारी बाढी र पहिरोका कारण रसुवागढी, नुवाकोट, धादिङ तथा मुग्लिन–काठमाडौँ जोड्ने मुख्य सडक धमनी कृष्णभीर क्षेत्रमा पहाडहरू खसेर यातायात र सञ्चार अवरुद्ध हुन पुगेका छन् ।
यस प्राकृतिक प्रकोपले नेपालको पर्यटकीय यातायात, पदमार्ग र समग्र पर्यटन उद्योगमा गहिरो चोट पु¥याएको छ । रसुवागढी, लाङटाङ, गोसाइँकुण्डजस्ता पवित्र धार्मिक एवं साहसिक क्षेत्रतर्फ गएका श्रद्धालु यात्री, विदेशी पर्यटक, यातायात चालक, पर्यटन मजदुर, पदयात्राका पथप्रदर्शक (गाइड), भरिया र स्थानीय बासिन्दाहरू प्रभावित बनेका छन् तर इतिहास साक्षी छ—मानिस प्राकृतिक विपत्तिका अगाडि केही क्षणका लागि विवश देखिए पनि उसको अदम्य साहस, धैर्य, संयम र पुनरुत्थानको चेतना कहिल्यै पराजित भएको छैन ।
खोजी तथा उद्धारका कार्यहरू तीव्र रूपमा अगाडि बढिरहेको यो कठिन घडीमा हराइरहेका सबै नेपाली तथा विदेशी नागरिकहरूको शीघ्र सुरक्षित उद्धार, घाइतेहरूको अविलम्ब स्वास्थ्यलाभ र प्रभावित परिवारहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना सबैको रहेको छ । निराशाको यो कालो बादल छिचोल्दै नेपालको पर्यटन उद्योग फेरि उठ्नै पर्छ र नयाँ ऊर्जाका साथ विश्वसामु चम्किनै पर्छ । पर्यटन उद्योग र व्यवसायलाई नयाँ ऊर्जाका साथ पुनर्जीवन दिनु, अर्थतन्त्रलाई गतिशील बनाउनु र सम्पूर्ण देशवासीमा आत्मविश्वास जगाउनु आजको मुख्य आवश्यकता हो ।
हिजोको गौरव, आजको चुनौती र भोलिको स्वर्णिम सम्भावना
हिजोका दिनमा नेपाल केवल एक पर्यटकीय गन्तव्य मात्र थिएनस यो विश्वभरका पर्यटकहरूका लागि आत्मिक शान्ति, सगरमाथाको साहसिक पदयात्रा, लाङटाङको मनमोहक उपत्यका, अन्नपूर्णको अद्वितीय पदमार्ग र नुवाकोटका ऐतिहासिक धरोहरहरूको साक्षात पाठशाला थियो । हाम्रा कला, मौलिक संस्कृति र ‘अतिथि देवो भवः’ को संस्कारले विश्वलाई मोहित बनाएको थियो । आज अविरल वर्षा र पहिरोले हाम्रा पैदलमार्गहरू क्षति पु¥याएका छन् ।
सडक सञ्जालहरू विच्छेद हुँदा पर्यटकीय आवागमन ठप्प प्रायः बनेको छ । यसले पदयात्राका गाइड, भरिया, यातायात चालक, साना पर्यटन व्यवसायी, चियापसल सञ्चालक र स्थानीय होमस्टे व्यवसायीहरूको रोजीरोटीमा प्रत्यक्ष धक्का पु¥याएको छ । विपत्तिले ल्याएको यो विनाशलाई हामीले एक ठूलो अवसरमा बदल्नु छ । आधुनिक, जलवायु–अनुकूल पूर्वाधार निर्माण गरेर, अन्तरराष्ट्रिय जगत्मा हराएको आत्मविश्वास पुनः फर्काउँदै नेपाललाई विश्वकै सुरक्षित, व्यवस्थित र जीवन्त पर्यटकीय स्वर्गका रूपमा पुनः स्थापित गर्नु आजको मुख्य कार्यदिशा हो ।
पर्यटन नै नेपालको मुख्य आर्थिक आधार
वैदेशिक मुद्रा र कूल गार्हस्थ उत्पादन (जिडिपी) को मुख्य स्रोतः नेपालसँग विशाल खनिज वा ठूला औद्योगिक कारखानाहरू छैनन् । हाम्रो सबैभन्दा ठूलो र दिगो सम्पत्ति नै हाम्रा हिमाल, हरियाली, जैविक विविधता र मौलिक संस्कृति हुन् । देशमा पर्यटकीय गतिविधि बढाउनु नै देशको जिडिपी वृद्धि गर्ने, वैदेशिक मुद्रा आर्जन गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई गतिशीलता दिने मुख्य आधार हो ।
समावेशी रोजगार र स्थानीय अर्थतन्त्रको विकासः सहरका सुविधासम्पन्न होटलदेखि गाउँका साना चियापसलसम्म, हिमाली भेगका कठोर परिश्रम गर्ने भरियादेखि सांस्कृतिक कलाकारहरूसम्म—पर्यटनले बिना भेदभाव हरेक नेपालीको घरमा चुलो बाल्न र स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न मद्दत पु¥याउँछ । सभ्यता, संस्कृतिर मौलिकताको प्रवद्र्धनः पर्यटन केवल व्यापार मात्र होइन, यो हाम्रो कला, पञ्चेबाजा, लोक दोहोरी, हस्तकला, चिया पर्यटन र मौलिक नेपाली आतिथ्य परम्परालाई विश्वभरका मानिसहरूको मनमा पु¥याउने सबैभन्दा सशक्त माध्यम हो ।
सङ्कट समाधानका ठोस र व्यावहारिक कदमहरू
द्रूत खोजी, उद्धार र मानवीय प्राथमिकताः यतिबेला जोखिममा परेका पर्यटक, गाइड, भरिया, चालक तथा स्थानीयवासीको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिँदै उनीहरूका लागि सुरक्षित आश्रय, खाद्यान्न, प्राथमिक उपचार र मनोवैज्ञानिक ढाडसको जरुरत पर्दछ ।
सडक मर्मत र वैकल्पिक पहुँचको सुनिश्चितताः नेपालका अन्य सुरक्षित पर्यटन गन्तव्यहरूमा पर्यटक आवागमन सुचारु रहेको र बाँकी क्षेत्रहरू सुरक्षित छन् भन्ने सकारात्मक सन्देश समयमै अन्तरराष्ट्रिय जगत्मा पु¥याउनुपर्ने हुन्छ । मुग्लिन–काठमाडौँ ९कृष्णभीर० र रसुवागढी–नुवाकोट मार्गको क्षतिलाई प्राथमिकताका साथ प्राविधिक अध्ययन गरी अल्पकालीन र दीर्घकालीन रूपमा सञ्चालनयोग्य बनाउनुपर्छ । मुख्य राजमार्ग अवरुद्ध हुँदा पर्यटकीय आवागमनलाई निरन्तरता दिन हवाई मार्ग तथा वैकल्पिक सडकहरूको सहज र सर्वसुलभ प्रयोग सुनिश्चित गराउन सक्नुपर्छ ।
सत्यतथ्य सूचना सम्प्रेषणः विपद्को समयमा पारदर्शी सूचना सम्प्रेषण र सकारात्मक सन्देशको महत्व निकै रहन्छ । प्रभावित क्षेत्र र सडक अवस्थाबारे अन्तरराष्ट्रिय तथा राष्ट्रिय स्तरमा सत्यतथ्य र पारदर्शी सूचना प्रवाह गर्नुपर्छ । नेपालका अन्य सुरक्षित पर्यटन गन्तव्यहरूमा पर्यटकीय आवागमन सुचारु रहेको र बाँकी क्षेत्रहरू पूर्ण रूपमा सुरक्षित छन् भन्ने सकारात्मक सन्देश विश्वसामु पु¥याउनुपर्ने हुन्छ । प्रभावित क्षेत्र र सडक अवस्थाबारे अन्तरराष्ट्रिय तथा राष्ट्रिय स्तरमा सत्यतथ्य, अद्यावधिक र पारदर्शी ढङ्गबाट सूचना प्रवाह गर्ने संयन्त्र हुन आवश्यक छ ।
पूर्वाधार सुरक्षा र जलवायु–अनुकूल पर्यटनः पूर्वाधार सुरक्षा र जलवायु–अनुकूल पर्यटनको विकासमा ध्यान दिनुपर्ने देखिन्छ । भविष्यमा कृष्णभीर वा अन्य संवेदनशील भौगोलिक क्षेत्रमा पर्न सक्ने क्षति न्यूनीकरणका लागि जलवायु–अनुकूल पूर्वाधार निर्माणमा जोड दिंदै पदयात्रा तथा साहसिक भ्रमण सञ्चालन गर्दा मौसमको पूर्वसूचना प्रणालीलाई अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन सकिएमा जस्तोसुकै विपद्मा पनि मानवीय तथा भौतिक क्षतिलाई रोक्न सकिन्छ ।
प्रभावित व्यवसायी र श्रमिकका लागि राहत प्याकेजः विपत्तिका कारण रोजगारी र व्यवसाय प्रभावित भएका पथप्रदर्शक, भरिया, चालक, साना पर्यटन व्यवसायी र श्रमिकहरूलाई लक्षित गरी अल्पकालीन सहायता, कर छुट र पुनरुत्थान योजना राज्य र निजी क्षेत्रको सहकार्यमा लागू गराउन सरकारबाट पहल हुन आवश्यक छ ।
अन्तरराष्ट्रिय कूटनीतिक नियोगहरूसमक्ष आह्वान
नेपालको पर्यटन पूर्ण रूपमा सुरक्षित छ र देश विश्वभरका पर्यटकहरूलाई स्वागत गर्न आतुर छ भन्ने सन्देश अन्तरराष्ट्रिय मञ्चमा पु¥याउन सरकारको तर्फबाट छिटै ऐतिहासिक कूटनीतिक सम्मेलन आयोजना गरिनु सान्दर्भिक देखिन्छ । त्यस कार्यक्रममार्फत नेपालस्थित विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख, महावाणिज्यदूत, अन्तरराष्ट्रिय विकास साझेदारहरू, नाट्टा, टानलगायतका अग्रणी पर्यटन व्यवसायी सङ्घ–संस्थाहरूलाई एकै ठाउँमा आमन्त्रित गरी राज्यका शीर्ष नेतृत्व तहबाट विश्वव्यापी रूपमा आधिकारिक संयुक्त घोषणा गर्दा त्यसले विश्व समुदायमा नेपालको छविलाई अझ उजिल्याउन मद्दत पुग्दछ ।
यसबाट हालैको अविरल वर्षा र बाढी–पहिरोले देशका केही सडक पूर्वाधार र सञ्जालमा क्षणिक चुनौती खडा गरे तापनि नेपालका अधिकांश पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सुरक्षित, जीवन्त र सुचारु रहेका छन् भन्ने सन्देश जानेछ । बाढी र पहिरो प्रभावित क्षेत्रहरूमा द्रुत उद्धार, राहत र पूर्वाधार पुनरुत्थानको काम तीव्रताका साथ अगाडि बढाइसकिएको छ । पर्यटन नै नेपालको जीडीपी र समावेशी अर्थतन्त्रको मुख्य मेरुदण्ड भएकाले राज्यले यस क्षेत्रको पुनर्निर्माणलाई सर्वोच्च प्राथमिकतामा राखेको भन्दै पुर्ननिर्माणमा सहयोगका लागि आह्वान गर्न सकिन्छ । यो विदेशी नागरिक तथा विश्वभरका पर्यटकहरूलाई निर्धक्क भएर नेपाल भ्रमणमा आउन र यहाँका हिमाल, संस्कृति र आतिथ्यको अद्वितीय अनुभव लिन हार्दिक आह्वान गर्ने महत्वपूर्ण अवसर पनि हुनेछ ।
पुनरुत्थानको साझा सङ्कल्प
रात जतिसुकै कालो र लामो भए पनि बिहानीको सूर्य उदाउन कसैले रोक्न सक्दैन । नुवाकोटका डाँडाकाँडा, रसुवाका हिमाल र कृष्णभीरका पहिराहरूले हामीलाई केही समयका लागि रोक्न खोजे पनि नेपालीहरूको पुनरुत्थानको चेतना, हिम्मत, भरियाहरूको समर्पण र आतिथ्यको भावनालाई कहिल्यै ढाल्न सक्दैनन् । पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन राज्य र निजी क्षेत्रको सहकार्यमा विशेष आर्थिक र नीतिगत सहजीकरण गराउन सकिन्छ ।
प्राकृतिक विपत्तिले अल्पकालीन रूपमा हाम्रा सडक पूर्वाधार र पर्यटन व्यवसायमा चुनौती खडा गरे पनि नेपालको अद्भूत सौन्दर्य, अतिथि सत्कारको परम्परा र नेपालीहरूको अदम्य साहस कहिल्यै कमजोर हुनु हुँदैन । यस्तो बेला निराशालाई आशामा बदल्दै नेपालको पर्यटन सुरक्षित र जीवन्त छ भन्ने अठोटका साथ सामूहिक मनोबल उच्च राख्नुपर्छ । सरकारी निकाय, व्यवस्थापिका, पर्यटन सम्बद्ध सङ्घ–संस्था, स्थानीय समुदाय, सञ्चार जगत् र अन्तरराष्ट्रिय कूटनीतिक नियोगहरू एक ठाउँमा उभिएर निराशालाई आशामा बदल्नु आजको राष्ट्रिय आवश्यकता हो । एकीकृत उद्धार, द्रूत पूर्वाधार विकास, राज्यको उच्चस्तरीय कूटनीतिक पहल र उच्च आत्मबलका साथ नेपालको पर्यटन उद्योग फेरि अझ सुरक्षित, व्यवस्थित र समुन्नत रूपमा टाउको उठाएर उभिनेछ ।
(लेखक खुम सुवेदी पर्यटन व्यवसायी हुन्)
नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही भदौ १० गते आएको रसुवाको भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो। घरबाट निकालिएका शव आज हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर : रासस
