माथिल्लो त्रिशूली–१ सुरुङमा चिनियाँ टोलीको ३ किलोमिटरसम्म खोजी, अझै कोही भेटिएनन् : प्रधानमन्त्री बालेन
काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङभित्र चिनियाँ विशेषज्ञ टोलीले करिब ३ किलोमिटर क्षेत्रसम्म खोजी गर्दा पनि अहिलेसम्म कुनै व्यक्ति फेला नपरेको बताएका छन्।
भदौ १० गते आएको भीषण बाढीपछि सामाजिक सञ्जालमार्फत नियमित रूपमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी दिँदै आएका प्रधानमन्त्री शाहले आइतबार राति सार्वजनिक गरेको विवरणमा उक्त जानकारी दिएका हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। तीमध्ये २५४ जनाको उद्धार भइसकेको र करिब ३०० जना अझै सुरुङभित्र फसेको विवरण इप्पानले सार्वजनिक गरेको छ।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी हालसम्म २७९ जनालाई उद्धार गरिएको छ। माथिल्लो त्रिशूली–१ आसपासबाट मात्रै पछिल्ला दुई दिनमा करिब २५० जनाको उद्धार भएको उनले बताएका छन्।
उद्धार अभियानमा चिनियाँ र कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग सहकार्य गरिरहेका छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा ब्लास्टिङबाट उद्धार प्रयास
नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा पनि उद्धार अभियान जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार नेपाली सेनाका इन्जिनियरहरूले सुरुङभित्र पुग्न ‘ब्लास्टिङ’ प्रविधिसमेत प्रयोग गरिरहेका छन्। घटनास्थलमा नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी करिब ९० जनाको संयुक्त टोली परिचालन गरिएको छ।
टोलीले आइतबार सुरुङको मुख्य भागसम्म पुगेर करिब २×३ फिटको प्वाल बनाएको थियो। त्यसबाट डोरीको सहायताले उद्धारकर्मी तल झरेर भित्र रहेका व्यक्तिलाई बोलाउँदा कुनै प्रतिक्रिया नआएको प्रधानमन्त्रीले बताएका छन्।
त्यसपछि सुरुङमा प्रवेश गर्ने बाटो फराकिलो बनाउन ठूला उपकरण र ब्लास्टिङको काम एकैसाथ अघि बढाइएको छ।
त्रिशूली–३ ‘बी’ मा पनि संयुक्त उद्धार टोली परिचालन
नुवाकोटकै माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि उद्धार कार्य भइरहेको छ। त्यहाँ भैरवनाथ गण र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोली परिचालन गरिएको छ।
चिनियाँ विशेषज्ञ टोलीले समेत नेपाली सेनासँग समन्वय गरी उद्धार कार्यमा प्राविधिक सहयोग गरिरहेको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
रसुवाका अन्य आयोजनामा विदेशी विशेषज्ञको सहयोग
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा भारतीय विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गर्दै रेकी गरेको छ। टोलीले पम्प र एक्स्काभेटर प्रयोग गरेर उद्धार तथा खोजीको काम अघि बढाइरहेको छ।
लाङटाङ खोला जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन गरिएको छ। भारतीय विशेषज्ञ टोलीले पनि नेपाली सेनासँग सहकार्य गर्दै स्थल निरीक्षणपछि पम्प र एक्स्काभेटर प्रयोग गरेर थप उद्धार कार्य थालेको प्रधानमन्त्री शाहले बताएका छन्।
मैलुङ खोला जलविद्युत् आयोजनामा भने कोरियाली विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी हवाई रेकी गरेपछि उद्धारसम्बन्धी काम सुरु गरेको छ।
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएपछि नेपाली सेना, प्रहरी तथा विदेशी प्राविधिक टोलीको संयुक्त प्रयासमा खोज तथा उद्धार अभियान तीव्र पारिएको छ।
