बाढीको जोखिम नरहेको सूचनापछि मुग्लिन–काठमाडौं सडकमा यातायात सुचारु
काठमाडौं — बाढीको सम्भावनासम्बन्धी सूचना आएपछि केही समय रोकिएका मुग्लिन–काठमाडौं सडकखण्डका सवारीसाधन पुनः सञ्चालनमा आएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान रसुवाबाट पुनः बाढी आउन सक्ने सूचना प्राप्त भएपछि नारायणगढबाट पोखरा, मुग्लिन तथा काठमाडौं जाने–आउने सवारीसाधनलाई अस्थायी रूपमा रोकिएको थियो।
पछि बाढीको ठूलो जोखिम नरहेको जानकारी प्राप्त भएपछि रोकिएका सबै सवारीसाधनलाई गन्तव्यतर्फ जान दिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिले सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा सञ्चालनमा आएको छ। प्रारम्भिक बाढीको सूचना आएपछि काठमाडौं हुँदै बाहिरिने सवारीसाधन नागढुंगा र चितवन क्षेत्रमा रोकिएका थिए।
यातायात सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा सवारीसाधन नरोक्न र सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने निर्देशन पालना गर्न प्रहरीले यात्रु तथा चालकलाई आग्रह गरेको छ।
