मानसरोवर यात्रु बढ्दा रसुवागढीमा चाप, बाढी आउनुअघिका पाँच दिनमा मात्रै २,७४६ जना चीनतर्फ
काठमाडौं । रसुवागढी नाका हुँदै कैलाश–मानसरोवर यात्रासहित चीन भ्रमणमा जाने यात्रुको संख्या बाढी आउनुअघि उल्लेख्य देखिएको छ। भदौ ५ देखि ९ गतेसम्म मात्रै २ हजार ७ सय ४६ जना रसुवागढी नाका हुँदै चीनतर्फ गएका थिए। तीमध्ये ९६४ जना नेपाली र १ हजार ७८२ जना विदेशी थिए।
अध्यागमन कार्यालयको तथ्यांकअनुसार सोही पाँच दिनमा १ हजार ५३३ जना नेपाल फर्किएका थिए। फर्किनेमा ३२१ जना नेपाली र १ हजार २१२ जना विदेशी थिए। भदौ १० गते बिहान रसुवामा बाढी आएपछि भने नाकाबाट हुने आवतजावत एकाएक घटेको देखिन्छ। उक्त दिन चीनतर्फ जानेको संख्या ८९ र नेपाल फर्किनेको संख्या चारमा सीमित भएको थियो।
रसुवागढीबाट चीन जानेमध्ये सबै यात्रु कैलाश–मानसरोवरका लागि मात्र गएका भने होइनन्। व्यापारिक प्रयोजन, चीनका विभिन्न गन्तव्यमा घुम्न जाने नेपाली तथा विदेशी र अन्य यात्रुले समेत यो नाका प्रयोग गर्छन्। तर सडकमार्गबाट यात्रा गर्न सहज र तुलनात्मक रूपमा कम खर्चिलो भएकाले पछिल्लो समय कैलाश–मानसरोवर जाने यात्रुका लागि रसुवागढी महत्वपूर्ण नाका बनेको छ।
कोरोना महामारीपछि भारतीय पर्यटकका लागि कैलाश–मानसरोवर यात्रा लामो समय बन्द थियो। त्यसअघि भारतीयसहित केही नेपाली यात्रुले हिल्सा नाका पनि प्रयोग गर्दै आएका थिए। पछिल्लो समय भने हिल्साबाट नेपालीको आवतजावत सीमित हुँदा रसुवागढी हुँदै मानसरोवर जाने यात्राप्रति चासो बढेको व्यवसायीहरू बताउँछन्।
रसुवागढी हुँदै मानसरोवर जाने यात्रा सामान्यतः करिब १० दिनको हुन्छ। काठमाडौं वा अन्य स्थानबाट सुरु हुने यात्रामा पहिलो दिन स्याफ्रुबेँसी पुगिन्छ। दोस्रो दिन रसुवागढी नाका पार गरेर चीनको केरुङ पुगिन्छ। त्यसपछि केरुङबाट सागा हुँदै कैलाश–मानसरोवर क्षेत्रतर्फ यात्रा अघि बढ्छ।
यात्रा तालिकाअनुसार तेस्रो दिन केरुङबाट सागा, चौथो दिन मानसरोवर क्षेत्र, पाँचौं दिन दार्चेन र छैटौं दिन दार्चेनबाट देरापुकतर्फ पुगिन्छ। सातौं दिन जुजुलपुक हुँदै यात्रा अघि बढाइन्छ भने आठौं दिन दार्चेन हुँदै सागा फर्किने गरिन्छ। नवौं दिन सागाबाट केरुङ र त्यसपछि रसुवागढी हुँदै नेपाल फर्किने क्रम हुन्छ।
यसै कारण भदौ ५ देखि १० गतेबीच रसुवागढी हुँदै चीनतर्फ गएका सबै यात्रु तत्कालै नेपाल फर्किसकेको हुनुपर्ने अवस्था हुँदैन। विशेषगरी मानसरोवर यात्रा करिब १० दिन लाग्ने भएकाले बाढी आएको समयसम्म तीमध्ये धेरै यात्रु चीनकै विभिन्न गन्तव्यमा रहेको हुन सक्ने देखिन्छ।
भदौ ५ देखि १० गतेको अवधिमा ठूलो संख्यामा यात्रु चीनतर्फ गएको र त्यही समयमा रसुवामा बाढी आएपछि केही परिवारले आफन्तसँग सम्पर्क हुन नसकेको गुनासो गरेका छन्। तर नाकाको तथ्यांकले उक्त अवधिमा आवतजावत गर्ने सबै यात्रु जोखिममा परेका वा सम्पर्कविहीन भएको पुष्टि गर्दैन।
रसुवागढी नाका पछिल्ला वर्षमा चीन आवतजावतका लागि पनि महत्वपूर्ण बन्दै गएको छ। उपलब्ध तथ्यांकअनुसार सन् २०२४ मा यस नाकाबाट १८ हजार १९१ जना नेपाल प्रवेश गरेका थिए, जसमा ५ हजार ८१४ जना नेपाली थिए। सन् २०२५ मा नेपाल प्रवेश गर्नेको संख्या १० हजार ५१६ थियो, जसमा २ हजार ९०५ जना नेपाली थिए। सन् २०२६ को उपलब्ध अवधिसम्म भने ३६ हजार १०१ जना नेपाल प्रवेश गरिसकेका छन्, जसमा ८ हजार ४४५ जना नेपाली छन्।
