बाढीले टनेलमा निम्त्याएको संकट असाधारण, विश्वमै यस्तो उद्धारको अनुभव छैन : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटका जलविद्युत आयोजनाका टनेलमा बाढी र लेदोसहितको माटो पसेर उत्पन्न भएको अवस्था सामान्य प्रकृतिको विपत्ति नभएको बताएका छन्। उनले यस्तो परिस्थितिमा उद्धार गर्ने विशेष दक्षता विश्वका अन्य मुलुकमा समेत सहज रूपमा उपलब्ध नरहेको दाबी गरेका छन्।
भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित जलविद्युत आयोजनाका टनेलमा फसेका व्यक्तिको उद्धारबारे प्रतिनिधि सभा बैठकलाई जानकारी दिँदै प्रधानमन्त्री शाहले पहिरोले टनेल थुनेको अवस्था र बाढीले हिलो–माटोसहित टनेल पूर्ण रूपमा भरिएको अवस्थाबीच ठूलो फरक रहेको बताए।
उनका अनुसार सामान्यतया टनेलमा पहिरो जाँदा अवरोध हटाएर उद्धार गर्न सकिने प्रविधि र विशेषज्ञता विश्वका विभिन्न मुलुकमा पाइन्छ। तर रसुवा र नुवाकोटमा देखिएको अवस्था बाढीसँगै ठूलो परिमाणमा हिलो, माटो र लेदो टनेलभित्र पसेर पूरै भाग थुनिएकोले चुनौतीपूर्ण बनेको हो।
‘यो पहिरोले थुनिएको टनेल होइन, बाढीसँगै हिलो र माटो पसेर पूर्ण रूपमा थुनिएको टनेल हो,’ प्रधानमन्त्री शाहले भने।
उनले मौसम, टनेलभित्रको अवस्था र उद्धारका लागि सुरक्षित स्थान बन्ने अवस्थालाई हेरेर मात्रै प्रभावकारी उद्धार अभियान अघि बढाउन सकिने बताए। टनेलभित्रको हिलो केही सुक्ने, उपकरण राख्न सकिने ठाउँ बन्ने तथा उद्धारकर्मी सुरक्षित रूपमा काम गर्न सक्ने अवस्था आवश्यक रहेको उनको भनाइ छ।
टनेलभित्र एकैपटक धेरै एक्साभेटर पठाएर उद्धार गर्न सकिने सुझाव आए पनि व्यवहारमा त्यसो गर्न सम्भव नभएको प्रधानमन्त्रीले बताए। घटनास्थलको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझ्न कठिन भएकाले उद्धारको रणनीति तयार पार्न पनि चुनौती रहेको उनले उल्लेख गरे।
प्रधानमन्त्री शाहले उद्धारको उपाय तय गर्न विभिन्न क्षेत्रका भूगर्भविद्, जियोटेक्निकल विज्ञ तथा देश–विदेशमा कार्यरत इन्जिनियरसँग परामर्श गरिएको बताए। उनका अनुसार घटनास्थलको वास्तविक अवस्थाका आधारमा उपलब्ध सूचना, विज्ञको सुझाव र प्राविधिक सम्भावनालाई जोडेर उद्धारको प्रक्रिया अघि बढाइएको छ।
टनेलमा फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका गुनासोलाई आफूले बुझेको बताए। तर आलोचनाका कारण सरकार र सुरक्षा निकायको उद्धार प्रयास प्रभावित नभएको उनको भनाइ छ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निरन्तर उद्धार प्रयास गरिरहेको उल्लेख गर्दै कठिन परिस्थितिमा खटिएका सुरक्षाकर्मीलाई आलोचनाभन्दा प्रोत्साहन आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले विपद्को वास्तविक प्रकृति र घटनास्थलको अवस्थाबारे पर्याप्त जानकारी नहुँदा बाहिरबाट हेर्दा उद्धारका विभिन्न विकल्प सहज देखिन सक्ने भन्दै व्यवहारमा टनेलभित्र काम गर्नु निकै जटिल रहेको संकेत गरे।
