लाङटाङमा जोखिम अझै कायमै, थप हिम–चट्टान खस्ने र पहिरो जाने चेतावनी
तस्बिर: सिन्ह्वा
काठमाडौं । लाङटाङमा विशाल हिम–चट्टानी पहाड खसेर विनाशकारी बाढी आएको एक साता बितिसक्दा पनि जोखिम पूर्ण रूपमा हटेको छैन। अन्तर्राष्ट्रिय हिमाली जोखिम विज्ञहरूको सञ्जाल हाइरिस्क र चिनियाँ अधिकारीहरूको पछिल्लो मूल्यांकनले प्रभावित क्षेत्रमा थप हिम–चट्टान खस्ने, पहिरो जाने तथा नदी थुनिएर नयाँ बाढी आउन सक्ने सम्भावना औंल्याएको छ।
हाइरिस्कले अगस्ट २६ अर्थात् भदौ १० मा भएको घटनापछि गरेको द्रुत जोखिम मूल्यांकनमा पहिरोको स्रोत क्षेत्रमा अझै अस्थिर चट्टान र हिउँको ठूलो हिस्सा बाँकी रहेको जनाएको छ। त्यसैले भविष्यमा थप हिम–चट्टानी पहाड खस्न सक्ने जोखिम रहेको उसको निष्कर्ष छ।
यद्यपि विज्ञहरूले भदौ १० कै आकारको अर्को विपत्ति तत्कालै दोहोरिने स्पष्ट संकेत नरहेको बताएका छन्। तर सानो स्तरको हिम–चट्टान वा पहिरोले पनि नदी तथा खोँचमा नयाँ अवरोध सिर्जना गर्न सक्ने भएकाले जोखिमलाई सामान्य रूपमा लिन नहुने उनीहरूको सुझाव छ।
बाढीले भूगोल नै परिवर्तन गरिदियो
हाइरिस्कका अनुसार भदौ १० को तीव्र बहावले नदी आसपासका थुप्रै भिरालो पाखा काटेर अस्थिर बनाएको छ। नदी र खोँचमा ठूलो परिमाणमा माटो, ढुंगा तथा गेग्रान जम्मा भएको छ।
अब ठूलो वर्षा भयो वा माथिल्लो क्षेत्रमा रहेका हिमतालको पानी अचानक बढ्यो वा निकास भयो भने ती सामग्री फेरि नदीतर्फ बग्न सक्छन्। त्यसबाट अचानक बाढीको अवस्था निम्तिन सक्ने जोखिम आगामी केही महिना मात्रै होइन, लामो समयसम्म रहन सक्ने हाइरिस्कको आकलन छ।
यसको अर्थ लाङटाङ क्षेत्रमा तत्कालै अर्को ठूलो बाढी आउँदैछ भन्ने होइन। बरु भदौ १० अघिको तुलनामा अहिले त्यहाँको भूभाग बढी अस्थिर भएकाले सामान्यभन्दा बढी सतर्कता आवश्यक रहेको हो।
चीनको निगरानीले पनि देखायो बाँकी जोखिम
हाइरिस्कको मूल्यांकनसँगै चीनले गरेको पछिल्लो स्थलगत तथा प्रविधिमा आधारित निगरानीले पनि खतरा पूर्ण रूपमा हटिनसकेको संकेत गरेको छ।
चीनको जलस्रोत मन्त्रालयले सेप्टेम्बर १ मा ड्रोनबाट खिचिएका तस्बिर तथा भूउपग्रहबाट प्राप्त नयाँ तस्बिर विश्लेषण गर्दै नेपालतर्फको मुख्य प्रभावित क्षेत्र आसपास अझै हिम–चट्टान खस्ने सम्भावना रहेको जनाएको छ।
चिनियाँ पक्षका अनुसार तल्लो नदीका दुवै किनारमा साना पहिरोसमेत देखिएका छन्। ती पहिरो नदीमा खसेर नदीको बहाव अवरुद्ध भयो भने नयाँ ताल बन्न सक्ने र त्यसपछि थप जोखिम सिर्जना हुन सक्ने चिनियाँ अधिकारीहरूको आकलन छ।
तर केही सकारात्मक अवस्था पनि देखिएको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार मुख्य खाडलमा जम्मा भएको पानी लगभग बाहिर निस्किसकेको छ र तल्लो नदीको बहाव अहिले सामान्य अवस्थामा फर्किएको छ। चीनतर्फ बनेको मुख्य तालको पानीसमेत पूर्ण रूपमा निकास भइसकेकाले त्यसबाट तत्काल ठूलो बाढी आउने जोखिम घटेको बताइएको छ।
तर अस्थिर पहाडी पाखा र नयाँ पहिरोको सम्भावना भने अझै प्रमुख चिन्ताको विषय बनेको छ।
आठ वैज्ञानिकको संयुक्त अध्ययन
हाइरिस्कको निष्कर्ष कुनै एक विज्ञको व्यक्तिगत धारणा होइन। आठ जना अनुसन्धानकर्ताले उपलब्ध भूउपग्रह तस्बिर, घटनास्थलका दृश्य, नेपाल सरकारका प्राविधिक प्रतिवेदन र अन्य तथ्यको अध्ययन गरेर ‘लाङटाङ–ल्हेन्दे खोला विपत्तिको द्रुत जोखिम मूल्यांकन’ तयार गरेका हुन्।
टोलीमा क्यू लिउ, ए. खत्री, ए. लर्ड, एम. घौली, एन. थापा, याकोब स्टाइनर, वाल्टर इमर्जिल र साइमन एलेन छन्।
उनीहरूले ल्यान्डस्याट–९ तथा प्लानेटलगायत भूउपग्रहबाट प्राप्त तस्बिरको अध्ययन गरेका थिए। घटनापछि प्रभावित क्षेत्रमा भएको भौगोलिक परिवर्तन र उपलब्ध सरकारी सूचनालाई समेत विश्लेषणमा समेटिएको छ।
टोलीका सदस्य वाल्टर इमर्जिल नेदरल्यान्ड्सस्थित उट्रेच विश्वविद्यालयमा पर्वतीय जलविज्ञानका प्राध्यापक हुन्। उनी लामो समयदेखि हिमाली जलविज्ञान, भूउपग्रह अध्ययन र जलवायु परिवर्तनका प्रभावबारे अनुसन्धान गर्दै आएका छन्। उनले नेपालस्थित इसिमोडमा समेत काम गरिसकेका छन्।
त्यस्तै, साइमन एलेन स्विट्जरल्यान्डको ज्युरिक विश्वविद्यालयसँग आबद्ध भूगर्भ वैज्ञानिक हुन् भने याकोब स्टाइनर पर्वतीय जलविज्ञानका अनुसन्धानकर्ता हुन्। स्टाइनरले लाङटाङ जलाधारमा लामो समयदेखि हिमाली जलचक्र र जलविज्ञानसम्बन्धी अध्ययन गरेका छन्।
यद्यपि हाइरिस्कको प्रतिवेदनलाई अन्तिम वैज्ञानिक अध्ययनका रूपमा भने लिन मिल्दैन। यो घटनापछि उपलब्ध तथ्यका आधारमा तत्काल तयार गरिएको ‘द्रुत जोखिम मूल्यांकन’ हो। त्यसैले यसका निष्कर्षलाई पछिल्लो अनुसन्धानसँगै थप परिमार्जन हुन सक्ने प्राविधिक आकलनका रूपमा बुझ्नुपर्ने हुन्छ।
करिब ५,२०० मिटरबाट खसेको थियो हिम–चट्टान
हाइरिस्कको प्रारम्भिक पुनर्निर्माणअनुसार भदौ १० को घटनामा करिब १ देखि १.३ किलोमिटर चौडा क्षेत्रमा हिमनदी र त्यसको आधारमा रहेको चट्टानसमेत भत्किएको थियो।
करिब ५,२०० मिटर उचाइबाट खसेको विशाल हिम–चट्टानी पिण्ड तलतिर झर्दा बाटोमा थप माटो, ढुंगा र अन्य सामग्री समेट्दै ३,००० मिटरभन्दा तलको उपत्यकासम्म पुगेको थियो।
त्यस क्षेत्रमा सन् २०२५ को पुरेपु हिमताल विस्फोटपछि आएको बाढीले थुपारेका ढुंगा तथा अन्य अवशेषसमेत थिए। हाइरिस्कको प्रारम्भिक अध्ययनअनुसार हिम–चट्टान खस्दा ल्हेन्दे खोला केही समयका लागि अवरुद्ध भएको हुन सक्छ।
त्यो अस्थायी अवरोध भत्किएपछि नेपाल र चीनतर्फको तल्लो क्षेत्रमा असर पार्ने ठूलो बाढी आएको हुन सक्ने वैज्ञानिकहरूको प्रारम्भिक निष्कर्ष छ।
यस घटनाले पहाडको एउटा भाग मात्र भत्काएको छैन। नदीको पिँध, खोँच र आसपासका भिरालो पाखाको संरचनासमेत परिवर्तन गरेको छ। यही कारण अहिलेको जोखिमलाई भदौ १० अघिको अवस्थासँग तुलना गर्न नमिल्ने वैज्ञानिकहरूको भनाइ छ।
अबको मुख्य जोखिम के हो?
वैज्ञानिकहरूले अहिले मुख्यतः तीनवटा सम्भावित जोखिम औंल्याएका छन्।
पहिलो, अस्थिर अवस्थामा रहेका माथिल्लो क्षेत्रका हिम–चट्टान फेरि खस्न सक्छन्।
दोस्रो, नदी किनारमा कमजोर बनेका पाखाबाट पहिरो खसेर नदी थुनिन सक्छ र अस्थायी ताल बन्न सक्छ।
तेस्रो, ठूलो वर्षा हुँदा अहिले खोँच तथा नदी क्षेत्रमा जम्मा भएको खुकुलो माटो, ढुंगा र गेग्रान फेरि बगेर तलतिर ठूलो बहाव सिर्जना गर्न सक्छ।
त्यसैगरी माथिल्लो क्षेत्रमा रहेका हिमतालको पानी तीव्र रूपमा बढ्नु वा अचानक निकास हुनु पनि जोखिम बढाउने प्रमुख कारण हुन सक्ने हाइरिस्कको चेतावनी छ।
खोजी, उद्धार र पुनर्निर्माणमा थप सतर्कता आवश्यक
चीनले पनि जोखिमको निरन्तर निगरानीका लागि जलविज्ञानसम्बन्धी ११ सदस्यीय आपतकालीन टोलीलाई चार समूहमा परिचालन गरेको जनाएको छ। ती टोलीले विभिन्न खोलाको पानीको सतह र बहाव मापन गर्नुका साथै ड्रोनबाट पानीको गति तथा नदीको भौगोलिक अवस्था अध्ययन गरिरहेका छन्। केही स्थानमा भिडिओ निगरानी उपकरणसमेत जडान गरिएको छ।
चीनले भदौ ११ देखि नै सम्भावित दोस्रो विपत्तिको जोखिम, नदीको बहाव, हिमनदी तथा बनेका तालको अवस्था निगरानी गर्दै आएको छ।
यसले लाङटाङ क्षेत्रमा तत्काल ठूलो बाढीको संकेत देखिएको भन्दा पनि भदौ १० को घटनापछि भूभाग अस्थिर बनेकाले जोखिमको निगरानी र सावधानी लामो समयसम्म आवश्यक रहेको देखाउँछ।
त्यसैले प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार, सडक तथा पूर्वाधार पुनर्निर्माण, जलविद्युत आयोजनाका गतिविधि र नदी आसपासको आवतजावत गर्दा नयाँ पहिरो, हिम–चट्टान खस्ने सम्भावना तथा अचानक नदीको बहाव बढ्न सक्ने अवस्थालाई विशेष ध्यान दिनुपर्ने देखिन्छ।
तस्बिर: सिन्ह्वा
