बाढीपीडितको सहारामा होटल व्यवसायी, हान सदस्यबाट करोडौँ सहयोगदेखि निःशुल्क आवाससम्म
काठमाडौं — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा होटल व्यवसायीहरू पनि जुटेका छन्। होटल संघ नेपाल (हान) को पहलमा सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् भने बेपत्ताका आफन्तलाई निःशुल्क बसोबास र खानाको व्यवस्था समेत गरिएको छ।
बाढीमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै हानले राहत तथा पुनःस्थापनाका लागि आफ्ना सदस्यलाई सहयोग गर्न आह्वान गरेको थियो। संघको आह्वानपछि विभिन्न होटलले स्वेच्छिक रूपमा आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएका हुन्।
प्राप्त विवरणअनुसार होटल किङ्सबेरीले सबैभन्दा बढी १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। त्यसपछि चन्द्रागिरि हिल्सले ५२ लाख ५१ हजार, होटल मेची क्राउनले २६ लाख, एभरेस्ट होटलले २० लाख र रामडा इन्कोर ठमेलले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।
कसले कति सहयोग गरे?
- होटल किङ्सबेरी — १ करोड ११ लाख रुपैयाँ
- चन्द्रागिरि हिल्स — ५२ लाख ५१ हजार रुपैयाँ
- होटल मेची क्राउन — २६ लाख रुपैयाँ
- एभरेस्ट होटल — २० लाख रुपैयाँ
- रामडा इन्कोर ठमेल — ११ लाख ११ हजार १ सय ११ रुपैयाँ
- क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट — ५ लाख ११ हजार १ सय ११ रुपैयाँ
- ड्रिम ग्रुप बुटवल — ५ लाख ३ हजार रुपैयाँ
- होटल सारथी — १ लाख ६५ हजार रुपैयाँ
- होटल एम्बासडर — १ लाख रुपैयाँ
- क्लब हिमालय — १ लाख रुपैयाँ
- होटल संघ नेपाल, सिन्धुली — १ लाख ४ हजार २ सय ८५ रुपैयाँ
धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङ्त्येलगायतका सदस्य होटलबाट पनि सहयोग प्राप्त भएको संघले जनाएको छ। अन्य सदस्यबाट सहयोग आउने क्रम जारी रहेको हानको भनाइ छ।
पैसासँगै खाद्यान्न र औषधि पनि
होटल व्यवसायीहरूले आर्थिक सहयोगमा मात्रै आफूलाई सीमित राखेका छैनन्। कतिपय होटलले बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र औषधिलगायतका अत्यावश्यक सामग्रीसमेत पठाइरहेका छन्।
चन्द्रागिरि हिल्स, क्राउन इम्पेरियल तथा माउन्ट ग्लोरीका कर्मचारीले व्यक्तिगत रूपमा समेत राहत कोषमा रकम योगदान गरेका छन्।
बेपत्ताका आफन्तलाई होटलमै निःशुल्क बस्ने व्यवस्था
बाढीमा परी बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजीका लागि काठमाडौं आएका आफन्तलाई समेत हानले सहयोग गर्ने भएको छ।
संघले प्रदेश तथा जिल्ला होटल संघसँग समन्वय गरी बेपत्ताका परिवारका लागि निःशुल्क बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ।
सम्पर्कविहीन विदेशी पर्यटकका परिवारलाई आवश्यक सूचना तथा व्यवस्थापनमा सहयोग गर्न नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको सहायता कक्षसँग समेत संघले समन्वय गरिरहेको छ।
मृतकप्रति श्रद्धाञ्जली सभा गर्ने तयारी
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता जनाउन हानले आगामी दिनमा श्रद्धाञ्जली तथा प्रार्थना सभा आयोजना गर्ने भएको छ।
संघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोजी तथा उद्धार कार्यले चाँडै सफलता पाउने विश्वास व्यक्त गरेको छ।
