बेपत्ताको खबर कुर्दै परिवार, रसुवाको बाढीले गाउँमा छाड्यो गहिरो पीडा
बागलुङ — भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि रसुवामा काम गर्न गएका बागलुङका १६ जना सम्पर्कविहीन छन्। एक साताभन्दा बढी समय बितिसक्दा पनि उनीहरूको अवस्था यकिन हुन नसक्दा आफन्तहरू घरको आँगन र बाटो हेर्दै सकुशल फर्किने आशामा छन्।
बाढीमा बेपत्ता भएकामध्ये अधिकांश विपन्न परिवारका सदस्य हुन्। परिवारको खर्च धान्न हाइड्रोपावर तथा अन्य आयोजनामा मजदुरी गर्न रसुवा पुगेका उनीहरू सम्पर्कविहीन भएपछि घरमा कमाउने व्यक्तिसँगै परिवारको भविष्यसमेत अन्योलमा परेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार रसुवाको त्रिशूली हाइड्रोपावर, हाकुबेँसीमा काम गर्न पुगेका तमानखोला गाउँपालिकाका नौ, ढोरपाटन नगरपालिकाका दुई र गलकोट नगरपालिकाका एक जना बेपत्ता छन्। नुवाकोटको त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका दुई इन्जिनियर र दुई बालबालिका पनि सम्पर्कविहीन छन्।
कमाउने व्यक्ति हराएपछि परिवारमा संकट
तमानखोला गाउँपालिका–३ का ५० वर्षीय दलप्रसाद बुढा र २२ वर्षीय सञ्जय श्रीपाली पनि बाढीपछि सम्पर्कविहीन छन्। उनीहरूको परिवारको आर्थिक अवस्था कमजोर रहेको वडाध्यक्ष झकबहादुर बुढाले बताए।
दलप्रसादको आम्दानीमा श्रीमती, नौ वर्षीय छोरा र छोरी आश्रित थिए। सञ्जयका आमाबाबु तथा भाइबहिनी उनको कमाइमा निर्भर थिए। अहिले दुवै परिवार आफन्त सकुशल फर्किने आशामा दिन काटिरहेका छन्।
बेपत्ताको खोजीका लागि वडाध्यक्ष बुढा गाउँपालिका अध्यक्ष जोकलाल बुढासहित रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। खोजीको आठौँ दिनसम्म पनि कुनै ठोस खबर नआएपछि परिवारमा चिन्ता बढ्दै गएको उनले बताए।
“परिवार अझै सकुशल भेटिने आशामा बाटो हेरिरहेका छन्,” उनले भने, “तर दिन बित्दै जाँदा चिन्ता झन् बढिरहेको छ। सबैजसो परिवार आर्थिक रूपमा कमजोर छन्। परिवार पाल्नकै लागि हाइड्रोपावरमा काम गर्न रसुवा पुगेका थिए।”
ठूलो परिवारको सहारा नै बेपत्ता
तमानखोला–२ बोङ्खानीका ३७ वर्षीय भीमबहादुर छन्त्याल पनि बाढीपछि बेपत्ता छन्। उनको आम्दानीमा श्रीमती, अपाङ्गता भएका बाबुआमा, छोरा तथा भाइबहिनी आश्रित थिए।
सोही क्षेत्रका ५२ वर्षीय खड्कबहादुर छन्त्यालको भरमा पनि वृद्ध बाबुआमा, श्रीमती र छोराछोरीसहितको परिवार चल्दै आएको थियो। उनी बेपत्ता भएपछि परिवार थप संकटमा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताए।
तमानखोला गाउँपालिका–१ का तीन जना पनि बाढीपछि सम्पर्कविहीन छन्। करिब ३७ वर्षीय पदमबहादुर घर्ती मगर, ३२ वर्षीय इन्द्रकुमार विक र २२ वर्षीय विष्णु घर्ती मगरको अवस्था अज्ञात छ।
पदमबहादुरका श्रीमतीसहित १३ र सात वर्षका छोराछोरी छन्। इन्द्रकुमारका श्रीमती तथा ११ र आठ वर्षका छोराछोरी छन्। विष्णुका श्रीमती, छोरा, बाबुआमा र दाजुसमेत उनीमाथि आश्रित थिए।
घरमा वृद्ध आमाबाबु र साना छोराछोरीको प्रतीक्षा
तमानखोला–४ का ५८ वर्षीय लाता कामीका श्रीमती र साना दुई छोराछोरी छन्। श्रीमती शारीरिक रूपमा कमजोर रहेको बताइएको छ। सोही वडाका भीमबहादुर विकको कमाइमा श्रीमती, तीन सन्तान, आमा र भाइको परिवार निर्भर थियो।
उनीहरू सम्पर्कविहीन भएपछि आश्रित परिवार अहिले आफन्तको खबरको प्रतीक्षामा छन्।
ढोरपाटन नगरपालिका–४ का २३ वर्षीय बेजेन्द्र घर्ती र वडा नम्बर ९ का २० वर्षीय तुलबहादुर सुनार पनि परिवारको कमजोर आर्थिक अवस्था सुधार्ने उद्देश्यले हाइड्रोपावरमा काम गर्न रसुवा पुगेका थिए। दुवै बाढीपछि सम्पर्कविहीन छन्।
सात दिनअघि मात्रै रसुवा पुगेका रमेश पनि बेपत्ता
गलकोट नगरपालिका–२ का २७ वर्षीय रमेश सुनार मजदुरीका लागि रसुवाको अपर त्रिशूली हाइड्रोपावर पुगेको करिब एक साता मात्रै भएको थियो। तर त्यही क्रममा आएको बाढीले उनलाई सम्पर्कविहीन बनायो।
रमेशको परिवारमा वृद्ध बाबुआमा, श्रीमती, दुई छोराछोरी र भाइ छन्। परिवारको जीविकोपार्जनमा उनको आम्दानी महत्वपूर्ण थियो।
वडाध्यक्ष हिमबहादुर भण्डारीका अनुसार रमेशको खोजी भइरहेको छ। “बेपत्ता भएको सात दिन बितिसक्यो, तर परिवारले अझै सकुशल भेटिने आशा छाडेको छैन,” उनले भने, “यदि सकुशल भेटिएनन् भने परिवारको अवस्था निकै कठिन हुनेछ।”
एउटै परिवारका चार सदस्य बेपत्ता
बागलुङ नगरपालिका–९ तित्याङमा भने एउटै परिवारका चार जना बाढीपछि सम्पर्कविहीन छन्।
इन्जिनियर ३३ वर्षीय राजेश शर्मा पौडेल, उनकी श्रीमती ३१ वर्षीया इन्जिनियर प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय छोरा आदित्य र छोरी आदिती शर्मा पौडेल बाढीपछि बेपत्ता छन्।
एकै परिवारका चार सदस्यको अवस्था अज्ञात भएपछि तित्याङमा समेत शोक र चिन्ताको वातावरण छ। बाढी प्रभावित क्षेत्रमा खोजी जारी रहे पनि लामो समयसम्म सम्पर्क स्थापित हुन नसक्दा बेपत्ताका परिवारमा आशा र निराशाबीचको प्रतीक्षा झन् कठिन बन्दै गएको छ।
