क्यासिनोमा जुवा खेल्दै गरेको आरोपमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
पर्सा— पर्साको वीरगन्जस्थित एक क्यासिनोबाट प्रहरी इन्स्पेक्टर, गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ परेका छन्।
शनिबार राति करिब साढे १० बजे वीरगन्ज महानगरपालिका–१४ गण्डकमा रहेको गोल्डेन फिंगर गेमिङ जोनबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर प्रदीप पौडेलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्कीका अनुसार क्यासिनोमा जुवा खेल्न पुगेका सखुवाप्रसौनी गाउँपालिका–३ का ३० वर्षीय चन्दन सहनी र वीरगन्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा पनि पक्राउ परेका छन्।
क्यासिनोमा ग्राहक प्रवेश गराउने काममा संलग्न चार कर्मचारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगन्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगन्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।
