८० प्रतिशत क्षतिग्रस्त होटल खुले, ठूला ब्रान्ड अझै पुनरुत्थानको प्रतीक्षामा
जेनजी आन्दोलनको क्रममा जल्दै गरेको होटल हिल्टन
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट प्रभावित अधिकांश होटल तथा रेस्टुरेन्ट क्रमशः सञ्चालनमा फर्किएका छन्। तर ठूलो लगानीमा सञ्चालित केही अन्तर्राष्ट्रिय ब्रान्डका होटल भने एक वर्ष बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।
गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र लुटपाटबाट काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानका पर्यटकीय पूर्वाधारमा ठूलो क्षति पुगेको थियो। होटल व्यवसायीका अनुसार आंशिक तथा मध्यम क्षति भएका साना–ठूला गरी करिब ८० प्रतिशत होटल र रेस्टुरेन्ट अहिले सञ्चालनमा फर्किसकेका छन्।
तर नक्सालको हिल्टन काठमाडौं र बौद्धको हायात रिजेन्सीजस्ता ठूला होटल अझै पूर्ण क्षमतामा फर्किन सकेका छैनन्। उच्चस्तरीय पर्यटन र विदेशी लगानीका महत्वपूर्ण पूर्वाधार लामो समय बन्द रहँदा नेपालको पर्यटन छविमा समेत नकारात्मक असर परेको व्यवसायीहरू बताउँछन्।
साढे आठ अर्ब रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको हिल्टन काठमाडौं आन्दोलनका क्रममा आगजनी र लुटपाटबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। अहिले बाहिरी संरचनाको सफाइ र मर्मत सुरु भए पनि भित्री भागको पुनर्निर्माणमा थप समय लाग्ने देखिएको छ।
होटलले करिब पाँच अर्ब रुपैयाँको बीमा दाबी गरेको छ। तर बीमा दाबीको मूल्यांकन र भुक्तानी प्रक्रियामा भएको ढिलाइले पुनर्निर्माणको गति प्रभावित भएको बताइएको छ।
बौद्धस्थित हायात रिजेन्सी पनि आन्दोलनबाट नराम्ररी प्रभावित भएको थियो। होटलका ७० भन्दा बढी कोठा, लबी, रिसेप्सन, रेस्टुरेन्ट, ब्याङ्क्वेट हल तथा कार्यालयमा क्षति पुगेको थियो। व्यवस्थापनले पुनर्निर्माण तथा स्तरोन्नतिको काम अघि बढाए पनि पूर्ण सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ।
होटल सञ्चालन लामो समय अवरुद्ध भएपछि व्यवस्थापनले ठूलो संख्यामा कर्मचारी कटौतीसमेत गरेको थियो। पुनर्निर्माणका लागि करिब दुई अर्ब रुपैयाँ ऋण स्वीकृत गराएर काम अघि बढाइएको जनाइएको छ।
काठमाडौंको बालुवाटारस्थित वर्णवास म्युजियम होटल पनि आन्दोलनबाट प्रभावित भएको थियो। आगजनी र तोडफोडबाट भौतिक संरचना, सजावट तथा इन्टेरियरमा क्षति पुगेपछि पुनर्निर्माण थालिएको थियो। होटल अहिले आंशिक रूपमा सञ्चालनमा आए पनि पूर्ण क्षमतामा फर्किन बाँकी छ।
काठमाडौं बाहिर पनि पोखरा, बुटवल, भैरहवा, विराटनगर, झापा, धनगढी, तुल्सीपुर र महोत्तरीलगायतका क्षेत्रमा होटल तथा पर्यटन व्यवसाय प्रभावित भएका थिए। पोखराको लेकसाइड क्षेत्रका विभिन्न होटल तथा रिसोर्टमा समेत तोडफोड भएको थियो।
पूर्वी नेपालको पाँचतारे होटल मेची क्राउनमा रेस्टुरेन्ट, स्पा, स्विमिङ पुल र करिब १५ वटा कोठामा क्षति पुगेको थियो। उक्त होटल भने अहिले पुनः सञ्चालनमा आइसकेको छ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार आन्दोलनका क्रममा ३० भन्दा बढी पर्यटकीयस्तरका होटलमा क्षति पुगेको थियो। संघले त्यसबाट करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको जनाएको थियो। क्षतिका कारण करिब दुई हजार होटल कर्मचारीको रोजगारी प्रभावित भएको अनुमान गरिएको थियो।
आन्दोलन पर्यटनको मुख्य सिजनमै भएकाले त्यसको असर बुकिङमा समेत परेको थियो। व्यवसायीका अनुसार कतिपय समयमा होटल बुकिङ ९० प्रतिशतसम्म घटेको र अकुपेन्सी २० प्रतिशत हाराहारीमा झरेको थियो।
पुनर्निर्माण भयो, तर व्यवसायीको विश्वास फर्किएन
क्षतिग्रस्त होटल पुनः सञ्चालनमा आउन थाले पनि पर्यटन व्यवसायीको आत्मविश्वास भने पुरानै अवस्थामा फर्किन नसकेको होटल संघ नेपालका अध्यक्ष शाह बताउँछन्।
उनका अनुसार होटल मर्मत गरेर मात्रै पर्यटन क्षेत्रको पुनरुत्थान सम्भव छैन। आगामी दिनमा पर्यटन क्षेत्रमा लगानी बढाउने र निजी क्षेत्रलाई सुरक्षित महसुस गराउने स्पष्ट सरकारी योजना आवश्यक छ।
सरकारले आगामी पाँच वर्षमा पर्यटन क्षेत्रलाई कहाँ पुर्याउने भन्ने स्पष्ट खाका ल्याउनुपर्ने उनको भनाइ छ। पर्यटन पूर्वाधार, लगानी सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माणमा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने उनले बताए।
भारत र चीनबाट ठूलो संख्यामा पर्यटक आकर्षित गर्न सके नेपालले वार्षिक ५० लाख पर्यटक भित्र्याउने सम्भावना रहेको व्यवसायीहरूको दाबी छ। तर त्यसका लागि लगानीकर्ताको विश्वास बढाउनु पहिलो आवश्यकता रहेको उनीहरूको भनाइ छ।
पर्यटन क्षेत्रका लागि ‘कालो दिन’
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारीले जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडलाई नेपालको पर्यटन क्षेत्रका लागि ‘कालो दिन’ का रूपमा लिनुपर्ने बताएका छन्।
उनका अनुसार आन्दोलनका घटनापछि नेपाल असुरक्षित गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो। त्यसको प्रत्यक्ष असर विदेशी पर्यटकको बुकिङमा परेको र धेरैले भ्रमण स्थगित वा रद्द गरेको उनले बताए।
उनको सुन्धारास्थित होटल प्रेसिडेन्टसमेत आन्दोलनका क्रममा तोडफोडमा परेको थियो। मर्मतपछि भने होटल पुनः सञ्चालनमा आइसकेको छ।
बाढीले फेरि थप्यो चुनौती
जेनजी आन्दोलनको असरबाट पर्यटन क्षेत्र विस्तारै बाहिर निस्कँदै गर्दा पछिल्लो समय रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीले पुनः चुनौती थपेको छ।
बाढीका कारण सडक तथा पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि नेपालबारे अन्तर्राष्ट्रिय बजारमा नकारात्मक धारणा फैलिन सक्ने चिन्ता व्यवसायीमा छ। पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र निजी क्षेत्रले नेपाल सुरक्षित तथा पर्यटकका लागि खुला रहेको सन्देश दिन प्रयास गरिरहेका छन्।
तर होटल तथा रेस्टुरेन्टमा आवश्यक ग्यासजस्ता आधारभूत वस्तुको आपूर्तिमा देखिने समस्या र अन्य अवरोधले समेत अन्तर्राष्ट्रिय पर्यटकमा गलत सन्देश जान सक्ने व्यवसायीहरूको भनाइ छ।
पर्यटनमा सानो नकारात्मक खबरले समेत ठूलो प्रभाव पार्न सक्ने भएकाले सरकारले तत्काल राहतसँगै दीर्घकालीन पर्यटन पुनरुत्थानको स्पष्ट रणनीति ल्याउनुपर्ने व्यवसायीहरूको माग छ।
जेनजी आन्दोलनको क्रममा जल्दै गरेको होटल हिल्टन
