रसुवा बाढीको प्रभाव : उत्तराखण्डको जोखिमयुक्त हिमतालमा अब पूर्वसूचना प्रणाली
काठमाडौं । नेपालमा रसुवामा आएको आकस्मिक बाढीपछि भारतको उत्तराखण्डले उच्च हिमाली क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको निगरानी र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिएको छ। उत्तराखण्ड सरकारले चमोलीस्थित वसुधारा हिमतालमा अत्याधुनिक पूर्वसूचना प्रणाली जडान गर्न प्रक्रिया अघि बढाएको हो।
हिमताल फुट्दा हुन सक्ने सम्भावित क्षति घटाउने, तालको जलस्तर तथा वातावरणीय परिवर्तनको निरन्तर निगरानी गर्ने र जोखिम देखिएमा समयमै तल्लो क्षेत्रका बासिन्दालाई सचेत गराउने उद्देश्यले प्रणाली स्थापना गर्न लागिएको हो।
वैज्ञानिक तथा प्राविधिक विज्ञ सम्मिलित टोली वसुधारा तालतर्फ परिचालन भइसकेको छ। सेप्टेम्बर २९ देखि सुरु भएको अभियान अक्टोबर १५ सम्म सञ्चालन गर्ने तयारी छ। टोलीमा केन्द्रीय भवन अनुसन्धान संस्थान र वाडिया हिमालय भूविज्ञान संस्थानका विज्ञहरू सहभागी छन्। उच्च हिमाली क्षेत्रको कठिन भूगोललाई ध्यानमा राख्दै सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको छ।
६ दशकमा पाँच गुणा बढ्यो तालको क्षेत्रफल
नेसनल रिमोट सेन्सिङ सेन्टरको तथ्यांकअनुसार वसुधारा तालको जलक्षेत्र पछिल्ला करिब ६ दशकमा उल्लेखनीय रूपमा विस्तार भएको छ। सन् १९६२ मा १०.५३ हेक्टर रहेको तालको क्षेत्रफल सन् २०२४ सम्म आइपुग्दा ५१.०७ हेक्टर पुगेको छ।
हिमनदीको सतहमा बनेको यो ताल विभिन्न साना तालहरू एकआपसमा जोडिँदै विकसित भएको बताइएको छ। तालको आकार बढ्दै जाँदा त्यसको तल्लो क्षेत्रमा रहेका बस्ती तथा महत्वपूर्ण संरचनामा जोखिम बढ्न सक्ने भएकाले निरन्तर निगरानी आवश्यक ठानिएको हो।
उत्तराखण्डमा १३ हिमताल उच्च जोखिममा
सन् २०२३ को नेसनल रिमोट सेन्सिङ सेन्टरको रिपोर्टअनुसार उत्तराखण्डमा ३४४ हिमताल पहिचान भएका छन्। तीमध्ये १३ वटा उच्च जोखिमयुक्त मानिएका छन्।
जोखिममा रहेका हिमतालमध्ये बागेश्वरमा एउटा, चमोलीमा चार, पिथौरागढमा छ, टिहरी गढवालमा एउटा र उत्तरकाशीमा एउटा छन्। तीमध्ये ६ वटा हिमतालको जलगर्भ सर्वेक्षणसमेत पूरा भइसकेको छ।
सर्वेक्षणबाट तालको गहिराइ, पानी धारण क्षमता तथा पानीको कुल परिमाणजस्ता विषयको अध्ययन गरिन्छ।
साइरनमार्फत तल्लो बस्तीलाई चेतावनी
नेपालको रसुवामा भदौ १० गते हिमपहिरोपछि आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएपछि उत्तराखण्डले पनि हिमतालसँग जोडिएको जोखिमलाई थप गम्भीर रूपमा लिन थालेको हो। यसअघि सन् २०२१ मा चमोलीमा हिम तथा चट्टान खसेपछि आएको बाढीमा २०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए।
वसुधारा तालमा जडान हुने प्रणालीले जलस्तर, मौसम, हिउँ र जलप्रवाहलगायतका विषयमा वास्तविक समयको तथ्यांक उपलब्ध गराउनेछ। जोखिमको स्तर बढेमा साइरनमार्फत प्रभावित क्षेत्रका मानिसलाई सचेत गराउने व्यवस्था पनि गरिनेछ।
यसका लागि तालबाट प्रभावित हुन सक्ने क्षेत्रको नक्सांकन गरी घर, बाँध र अन्य संरचनाको अवस्थासमेत अध्ययन गरिनेछ। हिमताल फुटेमा पानी तल्लो बस्तीमा पुग्न लाग्ने समयको अनुमान गरी आवश्यक प्रतिक्रिया समय निर्धारण गर्ने योजना छ।
आधा घण्टासम्मको प्रतिक्रिया समय पाउने अपेक्षा
वसुधारा तालबाट करिब १८ किलोमिटर तल धौलीगंगा उपत्यकामा नीति, गमशालीलगायतका बस्ती छन्। तालको जलस्तर निर्धारित सीमाभन्दा माथि पुगेपछि सेन्सर सक्रिय हुने र प्रणालीमार्फत चेतावनी जारी गर्न सकिने वैज्ञानिकहरूको भनाइ छ।
यसरी पूर्वसूचना प्राप्त हुँदा उद्धार तथा आपत्कालीन प्रतिक्रिया सुरु गर्न करिब आधा घण्टासम्मको समय उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ।
उच्च प्रविधिका उपकरणबाट चौबिसै घण्टा निगरानी
पूर्वसूचना प्रणालीमा विभिन्न प्रकारका सेन्सर तथा उपकरण प्रयोग गरिनेछन्। जलस्तर सेन्सरले तालको पानीमा हुने परिवर्तन मापन गर्नेछ भने स्वचालित मौसम केन्द्रले तापक्रम, आर्द्रता, वर्षा, हावाको गति तथा दिशा र वायुदाबलगायतका विवरण संकलन गर्नेछ।
त्यस्तै, हिउँको गहिराइ र हिउँमुनिको तापक्रम मापन गर्ने उपकरण, झुकाव तथा कम्पन सेन्सर र जलप्रवाह सेन्सर पनि जडान गरिनेछ। दुर्गम हिमाली क्षेत्रमा उपकरण सञ्चालनका लागि सौर्य ऊर्जा प्रणाली तथा मोबाइल नेटवर्क नभएको अवस्थामा तथ्यांक पठाउन उपग्रह सञ्चार प्रणाली प्रयोग गरिनेछ।
सेन्सरबाट प्राप्त सबै विवरण डाटा रेकर्डर तथा निगरानी ड्यासबोर्डमार्फत संकलन र अनलाइन निगरानी गरिनेछ। तोकिएको सीमाभन्दा बढी परिवर्तन देखिएमा सम्बन्धित निकायलाई समयमै सचेत गराउन प्रणालीले सहयोग गर्नेछ।
यस पहललाई उत्तराखण्डका अन्य संवेदनशील हिमतालमा पनि यस्तै प्रविधि विस्तार गर्ने आधारका रूपमा हेरिएको छ। जलस्तर, मौसम, हिउँ र पानीको बहावसम्बन्धी वास्तविक तथ्यांक उपलब्ध हुँदा हिमताल विस्फोटजन्य बाढीको जोखिम न्यूनीकरण र उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षा थप प्रभावकारी बनाउन सकिने अपेक्षा गरिएको छ। बिबिसी हिन्दीबाट
