चामेमा पहिरोको त्रास, घर छाडेर सुरक्षित स्थानमा स्थानीय
काठमाडौं । मनाङको सदरमुकाम चामेमा बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा बस्न बाध्य भएका छन् । कोही डाँडातर्फ पुगेका छन् भने कतिपय सरकारी कार्यालयका प्राङ्गणमा आश्रय लिएर बसेका छन् ।
ठाडो खोलामा आएको पहिरो मर्स्याङ्दी नदीसम्म पुगेपछि नदी आंशिक रूपमा थुनिएको छ । यसबाट नदीमा ताल बनेकाले ताल फुटेमा अचानक ठूलो बाढी आउन सक्ने त्रास स्थानीयमा छ ।
जिल्ला प्रहरी कार्यालय मनाङबाट करिब दुई सय मिटर माथि आइतबार साँझ पहिरो गएपछि चामेको जोखिम थप बढेको हो । राति फेरि पहिरो खसेपछि नदीको अवस्था थप जोखिमपूर्ण बनेको प्रहरीको भनाइ छ ।
मनाङ प्रहरीका निमित्त प्रमुख इन्स्पेक्टर विनोद बरालका अनुसार पहिरोका कारण कार्यालय परिसर आसपाससम्म धुलो र धुवाँजस्तो हावा आएको थियो । माथिल्लो तथा तल्लो मनाङतर्फको सम्पर्कसमेत प्रभावित भएको उनले बताए ।
यसअघि पहिरोले मर्स्याङ्दी थुन्दा नदी किनारका केही घर तथा होटल डुबानमा परेका थिए । स्थानीयका अनुसार बाढीबाट चामेका कम्तीमा ६ घरमा क्षति पुगेको छ । जोखिम बढेपछि स्थानीय र पर्यटक रातारात सुरक्षित स्थानतर्फ भागेका थिए ।
बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलासमेत रातभर जंगलमा बसेका थिए । बिहान चामे फर्किए पनि घरभित्र बस्न सक्ने अवस्था नरहेपछि उनीहरू सरकारी कार्यालयका प्राङ्गण तथा आसपासका डाँडामा आश्रय लिएर बसेका छन् ।
प्रहरीले माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ । चामे बजारको बाढीले बिगारेको सडक खुलाइएको भए पनि उपल्लो र तल्लो मनाङतर्फ जाने बाटो बन्द रहेको प्रहरीले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सम्पर्कमा समेत समस्या भएको छ ।
स्थानीयले तत्काल उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणको माग गरेका छन् । हेलिकप्टरमार्फत उद्धार गरिदिन आग्रह गरे पनि पर्याप्त पहल नभएको उनीहरूको गुनासो छ ।
मर्स्याङ्दी नदीमा बनेको ताल फुटेमा ठूलो बाढी आउन सक्ने भन्दै स्थानीय थप त्रसित छन् । प्रहरीका अनुसार माथिल्लो क्षेत्रमा अझ ठूलो पहिरो खस्ने सम्भावना पनि छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले ठाडो खोलामा पहिरो गएर मर्स्याङ्दी केही समय थुनिएको पुष्टि गर्दै माथिल्लो भागमा बनेको तालको वास्तविक अवस्था भने स्थलगत रूपमा हेर्न नसकिएको बताएका छन् ।
प्रशासनले ठाडो खोलामाथिबाट निरन्तर पहिरो खसिरहेको भन्दै नदी किनारका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
यसैबीच, हिमलुङ हिमालमा बेपत्ता भएकाहरूको खोजीका लागि मनाङमा रहेका हेलिकप्टरलाई चामेका बाढीपहिरो प्रभावितको उद्धारमा प्रयोग गर्ने विषयसमेत स्पष्ट हुन सकेको छैन ।
स्थानीय पालसाङ लामाका अनुसार चामेका अधिकांश घर अहिले खाली छन् । स्थानीयहरू सेना, प्रहरी तथा अन्य सरकारी कार्यालयका प्राङ्गण र जंगलमा बसेका छन् ।
उनका अनुसार बाढीले घर तथा संरचनामा पुर्याएको क्षति देखेपछि स्थानीय थप चिन्तित भएका छन् । सुरक्षित स्थानमा तत्काल उद्धार गरिनुपर्ने उनीहरूको माग छ ।
