फ्लाई दुबई विमान दुर्घटनाबाट जोगाउने पाँच यात्रुलाई वीरता पुरस्कार
काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले फ्लाई दुबईको विमानमा भएको सम्भावित दुर्घटना रोक्न भूमिका खेलेका पाँच इजरायली यात्रुलाई ‘राष्ट्रिय नागरिक वीरता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेका छन्।
विमानका सहचालकले चक्कु प्रहार गरेपछि उत्पन्न भएको घटनामा ती यात्रुहरूले जोखिम मोलेर आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेका थिए। उनीहरूको सक्रियताका कारण विमानलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन सकिएको बताइएको छ।
राष्ट्रपति हर्जोगले ती यात्रुहरूले अरूको जीवन जोगाउन आफ्नो सुरक्षासमेत जोखिममा पारेको भन्दै प्रशंसा गरेका छन्। उनले उनीहरूको साहसका लागि इजरायलका तर्फबाट धन्यवादसमेत व्यक्त गरेका छन्।
घटनामा विमानका भारतीय चालक स्मित मच्छाको भूमिकाको पनि हर्जोगले प्रशंसा गरेका छन्। अधिकारीहरूका अनुसार सहचालकले चक्कु प्रहार गरेपछि चालकले ककपिटको ढोका खोलेर यात्रु तथा चालकदलका सदस्यलाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि यात्रुहरूको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिइएको थियो।
राष्ट्रपति कार्यालयले सुरुमा चार जनालाई पुरस्कार दिने घोषणा गरेको थियो। पछि ताली मानेसको नामसमेत थपिएपछि पुरस्कार पाउने यात्रुको संख्या पाँच पुगेको हो।
कार्यालयका अनुसार मानेसले ककपिटबाट असामान्य आवाज सुनेपछि यात्रुहरूलाई सतर्क गराउँदै सहयोगका लागि आह्वान गरेका थिए।
पुरस्कार पाउनेमध्ये यानिभ हायुन पनि छन्। पेशाले प्लम्बर रहेका हायुनले ककपिटमा पुगेर सहचालकलाई नियन्त्रणमा लिन पहिलो पहल गरेका थिए। उनी रगत लागेको कपडामै बुधबार इजरायल फर्किएका थिए, जहाँ उनलाई प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेन गुरियन विमानस्थलमा स्वागत गरेका थिए।
यात्रुहरूका अनुसार एक महिलाले चालकलाई चक्कु प्रहार भएको भन्दै चिच्याएपछि हायुन ककपिटतर्फ दौडिएका थिए। त्यसपछि अन्य यात्रुको सहयोगमा आक्रमणकारीलाई नियन्त्रणमा लिइएको थियो।
घटनामा सहयोग गर्ने अर्का यात्रु आसफ राजुआनले आफूहरूका लागि त्यो क्षण अत्यन्त असाधारण भएको बताएका छन्। उनका अनुसार विमानभित्र रहेका यात्रु, परिवार तथा बालबालिकाको जीवन जोगाउन आफूहरूले तत्काल कदम चाल्नुपर्ने अवस्था आएको थियो। एजेन्सीको सहयोगमा
