स्थानीय चुनावलाई लक्षित गर्दै रास्वपाले ७७ जिल्लामा नेता खटाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत पार्टीले आफ्ना सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएर परिचालन गर्ने तयारी गरेको छ।
रास्वपाका नेताहरूलाई असोज २० देखि २७ गतेसम्म एक साताका लागि देशका विभिन्न जिल्लामा खटाइने भएको हो। उनीहरूले स्थानीय तहमा पार्टीका गतिविधि विस्तार, संगठन सुदृढीकरण तथा निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछन्।
प्रदेशअनुसार तोकिएका जिल्लामा पुग्ने नेताहरूले स्थानीय तह निर्वाचनको तयारीसँगै पार्टीको अभियानलाई पनि अघि बढाउने रास्वपाले जनाएको छ।
पार्टीकी सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका समस्या र सुझाव सुन्नुका साथै पार्टीका नीति, योजना र आगामी कार्यक्रमबारे जनतालाई जानकारी गराउनु पनि हो।
दुई मुख्य विषयमा केन्द्रित अभियान
रास्वपाले अभियानलाई मुख्यतः दुई विषयमा केन्द्रित गर्ने जनाएको छ।
पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनमा पार्टीले उम्मेदवार छनोट गर्ने प्रक्रियाबारे नागरिकलाई जानकारी गराउने योजना छ। स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रियाबारे समेत जनस्तरमा छलफल गरिनेछ।
दोस्रो, वर्तमान सरकार गठन भएपछि पछिल्लो करिब ६ महिनामा संसद् र सरकारमार्फत भएका काम तथा नीतिगत पहलका विषयमा नागरिकलाई जानकारी दिने रास्वपाको तयारी छ।
सरकारका काम र आगामी योजनाबारे जानकारी दिइने
अभियानका क्रममा सरकारले यस अवधिमा अघि बढाएका नीतिगत काम, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था तथा आगामी योजनाबारे जानकारी गराइने पार्टीले जनाएको छ।
रास्वपाका अनुसार अभियान चुनावी तयारीमा मात्र सीमित हुने छैन। स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिकको सहभागितामा सक्षम नेतृत्व छनोट गर्ने वातावरण निर्माण गर्नु पनि अभियानको उद्देश्य हो।
सहमहामन्त्री डाँगीका अनुसार पार्टीका सांसद र केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि देशका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा पुग्नेछन्।
उनका अनुसार यो अभियानमार्फत पार्टीले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय तहको भूमिका र नेतृत्व चयन प्रक्रियाबारे छलफल गर्ने तथा सरकार र संसद्का पछिल्ला गतिविधिबारे जानकारी गराउनेछ।
