बेनी–जोमसोम–कोरला सडकको कुनौटा खण्डमा बाटो खुल्यो, सवारी सञ्चालनको तयारी
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित कुनौटामा बाढीले बगाएको बेनी–जोमसोम–कोरला सडकको अवरुद्ध खण्ड पुनः जोडिएको छ। कालीगण्डकी करिडोरअन्तर्गत चीनसँगको कोरला नाका जोड्ने यो सडकमा माटो भरेर दुईतर्फबाट सडकको सम्पर्क कायम गरिएको हो।
असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले कुनौटामा करिब २५० मिटर सडक कटान गरेर बगाएपछि पैदलयात्रुसमेत जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका थिए।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार चार दिनको निरन्तर प्रयासपछि कुनौटामा सडक जोडिएको हो। अहिले सडकको सतह मिलाउने, लेभल कायम गर्ने तथा सवारीसाधन गुड्न मिल्ने बनाउने काम भइरहेको छ। उक्त काम पूरा गर्न थप एक–दुई दिन लाग्ने अनुमान गरिएको छ।
सडक खुलाउने काममा बुधबार मात्रै दुईतर्फबाट ६ वटा एक्साभेटर र ६ वटा टिप्पर परिचालन गरिएको थियो।
असोज दोस्रो साताको वर्षापछि आएको बाढीपहिरोका कारण पर्वतको पाङदेखि मुस्ताङको कोरला नाकासम्मको करिब २०२ किलोमिटर सडकखण्डका ५५ स्थानमा अवरोध भएको थियो। बाढीले विभिन्न १० स्थानमा सडक कटान गरेर क्षति पुर्याएको थियो।
मालढुङ्गादेखि कुनौटासम्म तथा कोरलादेखि पोखरेबगर पुलसम्म ठूला सवारीसाधन सञ्चालन हुनेगरी अधिकांश सडक मर्मत भइसकेको आयोजनाले जनाएको छ। पोखरेबगर–कुनौटा खण्डका रातोपानी, धीरच्याङ, भीरकाटे, महभीर, तिप्ल्याङ र बेगखोलामा भने पहिरो हटाउने, नयाँ ट्र्याक बनाइएको ठाउँमा ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने र सडक फराकिलो पार्ने काम जारी छ।
पोखरेबगरस्थित कालीगण्डकी पुलमा पनि ग्यावियन पर्खाल निर्माण गरी सडकलाई पुलसँग जोड्ने काम भइरहेको छ। उक्त क्षेत्रमा आगामी सोमबारसम्म सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सडक खुलाउन सडक विभाग तथा निर्माण व्यवसायीका १५ एक्साभेटर, १२ टिप्पर र १५ लोडरसहितको जनशक्ति परिचालन गरिएको छ। राहुघाट जलविद्युत् आयोजनाको विद्युतगृहअगाडि बाढीले कटान गरेको सडकको विकल्पमा नयाँ मार्ग निर्माणसमेत गरिएको छ।
यसपटकको बाढीपहिरोबाट बेनी–जोमसोम–कोरला सडकमा करिब ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। सडक पूर्णरूपमा पुनर्निर्माण गर्न करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने सडक विभागको आकलन छ।
कोरला नाका जोड्ने सडक सञ्चालनमा आउनु व्यापारसँगै पर्यटनका दृष्टिले पनि महत्वपूर्ण मानिएको छ। चीनसँगको व्यापारका लागि कोरला नाका महत्वपूर्ण बन्दै गएको अवस्थामा सडक अवरुद्ध हुँदा सयौँ कन्टेनर बाटोमै रोकिएका छन्।
यता मुस्ताङको स्याउ बजार पठाउने समय, दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा झार्ने समय र पर्यटकीय सिजन एकैसाथ सुरु भएकाले बेनी–जोमसोम सडक शीघ्र सञ्चालनमा ल्याउनुपर्ने दबाब बढेको छ। सडक खुलेसँगै मुस्ताङको पर्यटन, स्थानीय कृषि उत्पादनको ढुवानी र सीमावर्ती व्यापारमा सहजता आउने अपेक्षा गरिएको छ।
