कात्तिक १७ देखि अपि हिमाल पर्यटन उत्सव, प्रधानमन्त्री शाहलाई निमन्त्रणा
दार्चुला। दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने ‘अपि हिमाल पर्यटन उत्सव’ आयोजना हुने भएको छ। पर्यटन प्रवर्द्धन, स्थानीयस्तरमा रोजगारी र आयआर्जनका अवसर विस्तार तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो।
अपि हिमाल क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित उत्सवमार्फत १० हजार पर्यटक भित्र्याउने योजना रहेको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए।
उनका अनुसार उत्सवलाई प्रदेशस्तरीय बृहत् कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ। तीन दिनसम्म साहित्य, संस्कृति, खेलकुद, योग तथा जलवायु परिवर्तनसम्बन्धी विविध गतिविधि सञ्चालन गर्ने तयारी गरिएको छ।
उत्सवको पहिलो दिन राष्ट्रिय तथा प्रदेशस्तरका साहित्यकार र कलाकारको सहभागितामा सांस्कृतिक प्रस्तुति तथा साहित्यिक गोष्ठी आयोजना गरिनेछ।
दोस्रो दिन प्रदेशस्तरीय मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सञ्चालन हुनेछन्। कार्यक्रमको विशेष आकर्षणका रूपमा अपि हिमालको आधार शिविरमा क्रिकेट खेल आयोजना गरिने अध्यक्ष बोहराले बताए। उच्च हिमाली क्षेत्रमा खेलकुद गतिविधि सञ्चालनले पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावना खोल्ने उनको विश्वास छ।
त्यस्तै, अपि हिमाल क्षेत्रलाई स्वास्थ्य, योग र ध्यानमा आधारित पर्यटन अर्थात् ‘वेलनेस टुरिजम’को केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले योग तथा ध्यान शिविर पनि सञ्चालन गरिनेछ।
उत्सवको अन्तिम दिन जलवायु परिवर्तनका विषयमा विशेष संवाद कार्यक्रम आयोजना हुनेछ। आगामी नोभेम्बरमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिने उक्त संवादले जलवायु परिवर्तनका कारण नेपालको उच्च हिमाली क्षेत्रमा परिरहेका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताए।
गाउँपालिकाले उत्सवमा सहभागी भई अपि हिमाल क्षेत्रको पर्यटन विकासमा सहयोग गर्न सबैलाई आह्वान गरेको छ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहलाई निमन्त्रणा पठाइएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए। त्यसैगरी पर्यटनमन्त्री खड्गराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा सातै प्रदेशका पर्यटनमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ।
यद्यपि, प्रधानमन्त्री शाह उत्सवमा सहभागी हुने वा नहुनेबारे टुंगो लागिसकेको छैन। गत असारमा प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमा अपि हिमाल आधार शिविरमा क्रिकेट खेलिरहेको भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा चर्चित बनेको थियो।
अपि हिमाल क्षेत्रको प्राकृतिक सौन्दर्य, हिमाली संस्कृति र साहसिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
