दसैँपछि काठमाडौँ भित्रिने यात्रुको सङ्ख्या बढ्यो, प्रमुख नाकामा सवारी चाप
काठमाडौँ । दसैँ पर्व मनाउन काठमाडौँ उपत्यकाबाट आ–आफ्नो घर गएका सर्वसाधारण फर्किन थालेपछि उपत्यका प्रवेश गर्ने सडकमा सवारीसाधनको चाप बढेको छ। दसैँ बिदा सकिएसँगै काम, अध्ययन तथा व्यवसायका लागि काठमाडौँ फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा–कलङ्की, जडीबुटी–कोटेश्वर, भक्तपुरको जगाती तथा दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारीसाधनको आवागमन बढेको छ।
यात्रुको चाप बढ्न थालेपछि ट्राफिक प्रहरीले सडकमा निगरानी तीव्र बनाएको छ। यात्रुको आवागमन सहज बनाउने, सवारी व्यवस्थापन प्रभावकारी पार्ने र सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रमुख नाकाहरूमा निगरानी बढाइएको कार्यालयले जनाएको छ।
उपत्यकाका मुख्य प्रवेश नाकाबाट निजी कार, जिप, मोटरसाइकल तथा साना–ठूला सार्वजनिक सवारीसाधन नियमित रूपमा आवतजावत गर्ने गरेका छन्। ती नाकाबाट दैनिक करिब एक हजार सवारीसाधन आवागमन हुने गरेको जनाइएको छ।
यस वर्ष दसैँ मनाउन घटस्थापनादेखि कात्तिक ३ गतेसम्म पाँच लाख ७६ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए। दसैँको बिदा सकिएपछि तीमध्येका यात्रु पुनः उपत्यका फर्किने क्रम बढेको छ।
पर्व मनाएर फर्किने यात्रुको सङ्ख्या अझै बढ्न सक्ने भएकाले आगामी दिनमा पनि उपत्यका प्रवेश गर्ने प्रमुख सडकखण्डमा सवारी चाप कायम रहने सम्भावना छ। यस्तो अवस्थामा यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियम पालना गर्न तथा यात्राका क्रममा सावधानी अपनाउन आवश्यक देखिन्छ।
