हिमताल विस्फोटको जोखिम घटाउन चार हिमतालको पानीको सतह घटाइने
काठमाडौं। सरकारले हिमताल विस्फोटबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न चार वटा उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ। साथै, बाढीको पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन देशका प्रमुख नदी बेसिनमा निगरानी तथा सूचना प्रवाहको व्यवस्था विस्तार गरिने भएको छ।
ऊर्जा मन्त्रालयले जल तथा मौसम क्षेत्रको विकास, जलस्रोतको दिगो व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी दुई वटा श्वेतपत्र सार्वजनिक गर्दै यस्तो योजना अघि सारेको हो।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम बढ्नु, हिमनदी पग्लनु र हिमतालको आकार विस्तार हुनुजस्ता समस्याले हिमताल विस्फोटको जोखिम बढाइरहेको छ। यस्तो जोखिम कम गर्न सरकारले ग्लोफ सञ्जीवनी आयोजनामार्फत चार हिमतालमा पानीको सतह घटाउने तथा अन्य जोखिम न्यूनीकरणका उपाय अपनाउने तयारी गरेको छ।
योजनाअन्तर्गत मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालमा जोखिम न्यूनीकरणका काम गरिनेछ।
सन् २०२६ देखि २०३३ सम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको उक्त आयोजनाको कुल लागत करिब ४९.९ मिलियन अमेरिकी डलर छ। यसअघि दोलखाको छो–रोल्पा र सोलुखुम्बुको इम्जा हिमतालको पानीको सतह घटाएर जोखिम कम गर्ने काम गरिएको थियो। ती अनुभवका आधारमा थप हिमतालमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
छ नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गरिने
सरकारले बाढीबाट हुने क्षति कम गर्न छ वटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार गर्ने भएको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाअन्तर्गत ७.५४ मिलियन अमेरिकी डलरको लागतमा यस्तो प्रणाली जडान गरिरहेको छ। यो आयोजना सन् २०२२ देखि २०२८ सम्म सञ्चालन हुने गरी अघि बढाइएको हो।
केन्द्रले जेठ १ देखि असोज मसान्तसम्म चौबीसै घण्टा बाढीको पूर्वानुमान तथा पूर्वसूचना सेवा सञ्चालन गर्ने जनाएको छ। चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वानुमान मोडल विकास गर्ने योजना पनि छ।
यसैगरी, बागमती सुधार आयोजनाअन्तर्गत २ करोड ६१ लाख रुपैयाँ खर्च गरेर समुदायमा आधारित बाढी पूर्वसूचना प्रणाली निर्माण गरिनेछ। यसबाट बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई सम्भावित विपद्बारे समयमै जानकारी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मौसम पूर्वानुमानमा आधुनिक प्रविधिको प्रयोग
मौसम तथा जलजन्य विपद्को पूर्वानुमानलाई थप भरपर्दो बनाउन मौसम विज्ञान विभागले कृत्रिम बुद्धिमत्ता, मेसिन लर्निङ र उच्च क्षमताको कम्प्युटिङ प्रणाली प्रयोग गर्ने योजना बनाएको छ।
त्यस्तै, देशभर रहेका ५०३ वटा म्यानुअल मौसम मापन केन्द्रलाई क्रमशः स्वचालित प्रणालीमा स्तरोन्नति गर्ने र काठमाडौं उपत्यकामा एक्स–ब्यान्ड राडार जडान गर्ने प्रस्ताव गरिएको छ।
माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्न थप छ प्रदेशमा रेडियोसोन्डे केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ। यी प्रविधिको प्रयोगबाट मौसमको अवस्था र सम्भावित विपद्को पूर्वानुमानमा सुधार आउने अपेक्षा गरिएको छ।
सरकारले बाढी तथा मौसमसम्बन्धी पूर्वसूचना स्थानीय तह र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने समुदायसम्म छिटो पुर्याउन मोबाइल एप, टोल–फ्री सेवा, सामाजिक सञ्जाललगायत सञ्चार माध्यमको उपयोग गर्ने जनाएको छ।
हिमतालको पानीको सतह घटाउने, निगरानी प्रणाली सुदृढ गर्ने र पूर्वसूचना सेवा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन भएमा हिमताल विस्फोट तथा बाढीबाट नदी तटीय क्षेत्रमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
