नेपाल–भारतबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शाहबीच भएको भेटवार्तापछि विभिन्न विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
दुई देशबीच भएका समझदारीले सुरक्षा, प्रशासन, स्वास्थ्य, प्रविधि, सहरी विकास तथा कृषि–पशुपालनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ।
समझदारी भएका प्रमुख क्षेत्र
फरेन्सिक अनुसन्धानमा सहकार्य
गुजरातको गान्धीनगरस्थित राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच फरेन्सिक विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धान तथा क्षमता विकासमा सहकार्य हुनेछ।
प्रहरी तालिम तथा क्षमता विकास
भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षण तथा क्षमता अभिवृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ।
सरकारी अधिकारीलाई प्रशिक्षण
भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच सरकारी अधिकारीको क्षमता विकास तथा तालिमका लागि सहकार्य गर्ने सहमति भएको छ।
आयुर्वेद तथा परम्परागत उपचार पद्धति
नेपाल र भारतले आयुर्वेदसहित परम्परागत चिकित्सा प्रणालीको विकास, अध्ययन र प्रवर्द्धनमा संयुक्त रूपमा काम गर्ने भएका छन्।
स्याटेलाइट सञ्चारमा सहकार्य
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट सञ्चार नेटवर्क निर्माण गर्ने विषयमा समझदारी भएको छ।
दिगो सहरी विकास
दुवै देशले आधुनिक तथा दिगो सहर निर्माणका लागि आवश्यक प्राविधिक ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्ने भएका छन्।
स्वास्थ्य तथा चिकित्सा क्षेत्र
नेपाल–भारतबीच स्वास्थ्य सेवा, चिकित्सा प्रणाली तथा सम्बन्धित क्षेत्रमा सहकार्य र अनुभव आदानप्रदान गर्ने समझदारी भएको छ।
पशुपालन तथा मत्स्य विकास
पशुपालन र मत्स्यपालन क्षेत्रको विकास, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिका लागि दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ।
