साल्पा–सिलिचुङमा मुन्दुमी पर्यटनको नयाँ आकर्षण
खोटाङ । किरात समुदायको धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको साल्पा–सिलिचुङ क्षेत्र पछिल्लो समय मुन्दुमी पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ। धार्मिक आस्था, मौलिक संस्कृति र हिमाली प्राकृतिक सौन्दर्यलाई एकै ठाउँमा अनुभव गर्न सकिने यस क्षेत्रमा मुन्दुमी मान्यता झल्काउने संरचना थपिएपछि पर्यटक आकर्षण बढ्ने अपेक्षा गरिएको छ।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको संगममा पर्ने साल्पा–सिलिचुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ, नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम र चिण्डोसहितका संरचना निर्माण गरिएका छन्। यी संरचनाले किरात समुदायको मौलिक संस्कृति र मुन्दुमी मिथकलाई पर्यटनसँग जोड्ने आधार तयार गरेको स्थानीयको भनाइ छ।
साल्पा–सिलिचुङ संरक्षण तथा प्रवर्द्धन अभियानमा नेपालसहित बेलायत, हङकङ, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत मुलुकमा रहेका नेपाली तथा किरात समुदायको सहभागिता छ। अभियानका क्रममा करिब दुई करोड ८४ लाख रुपैयाँ संकलन भएकामा दुई करोड ६२ लाख रुपैयाँ भौतिक पूर्वाधार निर्माणमा खर्च गरिएको जनाइएको छ।
साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बु राई ‘मूलघरे कान्छा’का अनुसार क्षेत्रलाई संरक्षण गर्दै मुन्दुमी संस्कृति र परम्पराको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार साल्पा–सिलिचुङलाई मुन्दुमी मिथकको उद्गमस्थलका रूपमा विकास गरी भविष्यमा विश्व सम्पदा सूचीमा सूचीकृत गराउने अभियानसमेत अघि बढाइएको छ।
करिब चार वर्षदेखि सञ्चालनमा रहेको अभियानअन्तर्गत विभिन्न चरणमा सांस्कृतिक संरचना निर्माण गरिएको हो। पहिलो चरणमा सुम्निमा, पारुहाङ र नाक्छुङका प्रतिमा स्थापना गरिएको थियो। त्यसपछि साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम निर्माण गरिएको थियो। पछिल्लो चरणमा ३५ फिट अग्लो पित्तलको जोडी वाबुक अर्थात् चिण्डो, पोखरीमा ध्यानमग्न पारुहाङको प्रतिमा र नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको छ।
समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा रहेको साल्पा–सिलिचुङ प्राकृतिक दृश्यावलोकनका हिसाबले पनि आकर्षक छ। यहाँबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण र मेरा पिकलगायत हिमशृङ्खला देख्न सकिन्छ। हिमाली भूगोलसँगै वनजङ्गल, नदी, चरन क्षेत्र र किराती बस्तीको जीवनशैली अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रमा सांस्कृतिक तथा प्रकृति पर्यटनको सम्भावना उच्च रहेको छ।
साल्पापोखरी क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा समेत परिचित छ। समुद्री सतहबाट तीन हजार ६७२ मिटर उचाइमा रहेको पोखरीमा वर्षमा विभिन्न समयमा पूर्णिमाका अवसरमा मेला लाग्ने गर्छ। खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा र सोलुखुम्बुसहित विभिन्न जिल्लाबाट भक्तजन तथा पर्यटक यहाँ पुग्ने गरेका छन्।
साल्पापोखरीमा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ। स्थानीय जनविश्वासअनुसार यहाँ पूजाआजा गरे बोली नफुटेकाले बोल्न सक्ने, सन्तान नभएकाले सन्तान प्राप्त गर्ने तथा धामीझाँक्रीले मुन्दुमी शक्ति प्राप्त गर्ने विश्वास गरिन्छ। यही धार्मिक तथा सांस्कृतिक महत्वका कारण साल्पापोखरीमा आउने आगन्तुकको संख्या क्रमशः बढिरहेको स्थानीय बताउँछन्।
साल्पा–सिलिचुङ हुँदै जाने मुन्दुम पदमार्गले पनि यस क्षेत्रको पर्यटन सम्भावनालाई थप बल दिएको छ। नेपाल सरकारले घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यमा समेटेको मुन्दुम पदमार्ग विस्तारसँगै यस क्षेत्रका विभिन्न स्थानलाई जोडेर स्थानीय तहहरूले पदमार्ग तथा पर्यटकीय पूर्वाधार विकास गरिरहेका छन्।
पहिले प्रचारप्रसार र पूर्वाधारको कमीका कारण सीमित पर्यटक पुग्ने गरेको साल्पा–सिलिचुङमा पछिल्लो समय होटल तथा होमस्टे विस्तार हुन थालेका छन्। पदमार्गमा पर्ने चौँरीखर्क, घाँसेमैदान, भेँडीचोक तथा घोडचढीका दृश्यले पनि पदयात्रीलाई आकर्षित गर्ने गरेका छन्।
यस क्षेत्रमा पर्यटकका लागि धार्मिक तथा सांस्कृतिक अनुभवसँगै हिमाली दृश्यावलोकन, पदयात्रा, स्थानीय जीवनशैली र मौलिक खानपानको अनुभव लिन सकिने सम्भावना छ। मुन्दुमी संस्कृति झल्काउने नयाँ संरचना, पदमार्ग र आवासीय पूर्वाधारको विस्तारले साल्पा–सिलिचुङलाई पूर्वी नेपालको महत्वपूर्ण सांस्कृतिक, धार्मिक र प्रकृति पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार हुँदै गएको देखिन्छ।
