भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस गरिएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३८औँ बैठकले बाढीमा बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकको विवरण यकिन गर्दै मृत्यु घोषणा प्रक्रिया अघि बढाउन सिफारिस गरेको हो।
समितिका अनुसार ४८ जिल्लाबाट ३ हजार २९२ जना नेपालीको विवरण यकिन भएको छ। त्यसैगरी, १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा ६२३ जना विदेशी नागरिकलाई समेत बेपत्ताको सूचीमा यकिन गरिएको छ। यी सबै गरी ३ हजार ९१५ जनाको मृत्यु घोषणा गर्न सरकारलाई सिफारिस गरिएको हो।
विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) ले विपद्मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था गरेको छ।
बेपत्ता व्यक्तिको विवरण यकिन गर्न प्राधिकरणले स्वदेशी तथा विदेशी नागरिकका हकमा छुट्टाछुट्टै प्रक्रिया अपनाएको थियो। स्वदेशी नागरिकको विवरण सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा संकलन गरिएको थियो।
विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूचीका आधारमा विवरण संकलन गरिएको थियो। यसरी प्राप्त विवरणमाथि दाबी वा उजुरी भए पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना जारी गरेको थियो।
बैठकले विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित अन्य महत्वपूर्ण निर्णयसमेत गरेको छ। ‘सबैका लागि पूर्वसूचना’ अभियानअन्तर्गत पूर्वसूचना प्रणाली राष्ट्रिय मार्गचित्र २०८३/०८७ स्वीकृत गरिएको छ।
मार्गचित्रले २०८७ सालसम्म नेपालका सबै समुदायमा प्रकोपसम्बन्धी पूर्वसूचना पुर्याउने लक्ष्य राखेको छ। यसका लागि बहुप्रकोप पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालनलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ तथा कार्ययोजना २०८३/८४–२०९१/९२ स्वीकृत गरेको छ। वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ लाई समेत स्वीकृति दिइएको छ।
बैठकले जोखिममा रहेका बस्ती स्थानान्तरणका लागि पनि निर्णय गरेको छ। डडेल्धुराको आलिताल गाउँपालिका–१ भोका गाउँ र माला गाउँका २४ घरधुरी तथा वडा नम्बर २ को बलौचा गाउँका २२ घरधुरीलाई गाउँपालिकाभित्रकै सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्वीकृति दिइएको छ।
त्यस्तै, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मुडुङ्गे बस्तीका ४० घरधुरीलाई फुदवाङमा तथा गोरखाको चुमनुब्री गाउँपालिका–३ देवल गाउँका ३२ घरधुरीलाई फिलिम गाउँमा स्थानान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ।
