घुमाउने पुल अलपत्र हुँदा पर्यटन मार्ग प्रभावित
तनहुँ । तनहुँको आँबुखैरेनी र चितवनको भरतपुर जोड्ने त्रिशूली नदीमाथिको घुमाउने मोटरेबल पुल निर्माणमा भएको ढिलाइले स्थानीयको आवागमनसँगै यस क्षेत्रको पर्यटन सम्भावनालाई समेत प्रभावित बनाएको छ। पोखरा–दमौली क्षेत्रलाई चितवन र नारायणगढसँग जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा हेरिएको पुल निर्माण तत्काल अघि बढाउन स्थानीयले माग गरेका छन्।
आँबुखैरेनी गाउँपालिका–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेघाटमा सुरु भएको पुल निर्माण १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। पुल नहुँदा बुद्धसिं मोटरमार्गबाट आवतजावत गर्ने यात्रु तथा पर्यटकले लामो दूरीको वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।
पुल निर्माणको पछिल्लो अवस्थाबारे स्थानीय अगुवा सिद्धान्त थापा मगरले सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठ र इन्जिनियर राजेन्द्र रेग्मीसँग छलफल गरेका छन्। उनले पुल निर्माणमा देखिएका अवरोध हटाएर कामलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।
सडक डिभिजन कार्यालयका अनुसार पुरानै स्थानमा पुल निर्माण गर्ने वा नयाँ स्थान छनोट गर्ने विषयमा अध्ययन भइरहेको छ। चालु आर्थिक वर्षमा पुल निर्माणका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ।
निर्धारित अवधि तथा थपिएको म्यादमा समेत काम सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले गत वैशाखमा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोडिसकेको छ। पहिलोपटक विसं २०७० असारमा मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पुल निर्माणको सम्झौता भएको थियो। पटक–पटक म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा पुनः सम्झौता गरिएको थियो।
सम्झौताअनुसार विसं २०७८ चैतमै पुल निर्माण सकिनुपर्ने थियो। तर अहिलेसम्म करिब ३६ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ। हाल पुलका दुवैतर्फ केही पिल्लर मात्रै निर्माण भएका छन्।
पोखरा–चितवन पर्यटन यात्रामा नयाँ विकल्प
घुमाउने पुल निर्माण सम्पन्न भएमा पोखरा, दमौली, आँबुखैरेनी हुँदै चितवन र नारायणगढ जोडिने वैकल्पिक पर्यटन मार्ग थप सहज बन्नेछ। विशेषगरी पोखरा आउने पर्यटकलाई चितवनका जंगल सफारी, देवघाट तथा आसपासका धार्मिक तथा प्राकृतिक गन्तव्यसम्म पुग्न छोटो मार्ग उपलब्ध हुने अपेक्षा गरिएको छ।
बुद्धसिं मोटरमार्ग दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु भई सेती र मादी नदी किनार हुँदै व्यासका विभिन्न वडा, बन्दीपुर र आँबुखैरेनी हुँदै मुग्लिन–नारायणगढ सडकसँग जोडिन्छ। यही मार्गमा पर्ने घुमाउने पुलले गण्डकी र चितवनबीचको पर्यटन आवागमनलाई थप सहज बनाउने देखिन्छ।
यो सडक पृथ्वी राजमार्गको मुग्लिन खण्डको तुलनामा करिब २३ किलोमिटर छोटो रहेको बताइएको छ। पुल सञ्चालनमा आएपछि पोखरा र दमौलीबाट नारायणगढतर्फ जाने पर्यटक तथा यात्रुले वैकल्पिक छोटो मार्ग प्रयोग गर्न सक्नेछन्।
पुल निर्माण नहुँदा अहिले सवारीसाधन तनहुँको सीमासम्म पुगेर फर्कनुपर्ने बाध्यता छ। मोटरसाइकल भने डोहोर्याएर मुग्लिन–नारायणगढ सडकसम्म लैजान सकिने अवस्था छ।
पर्यटन व्यवसायीका अनुसार सडक र पुलजस्ता पूर्वाधार विस्तारले नयाँ पर्यटकीय गन्तव्यलाई मुख्य पर्यटकीय सर्किटसँग जोड्न सहयोग पुर्याउँछ। घुमाउने पुल सञ्चालनमा आएमा देवघाट, बन्दीपुर, आँबुखैरेनी, दमौली र चितवनलाई जोडेर बहुगन्तव्य पर्यटन प्रवर्द्धन गर्ने अवसरसमेत सिर्जना हुन सक्छ।
