सेनाले दुई अर्ब खर्चेर बनाएका होल्डिङ सेन्टर अलपत्र, पर्यटन व्यवसायका लागि प्रयोगमा ल्याउन सकिएला ?
११ असार, काठमाडौं । नेपाली सेनाले देशका विभिन्न स्थानमा करिब २ अर्ब खर्चेर बनाएका होल्डिङ सेन्टर अलपत्र परेका छन् ।
सेनाले झापाको मेचीनगर नगरपालिका-१४, दुवागढीमा २२ वटा पक्की भवनसहितको होल्डिङ सेन्टर, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, सल्लाघारीमा एक हजार बेड क्षमताको होल्डिङ सेन्टर, पर्सास्थित सीमा नाकामा ६० कोठाको संरचना लगायत कोभिड–१९ भाइरसको महामारीको रोकथामका लागि केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा देशका ८ स्थानमा एक हजार शैयाको होल्डिङ सेन्टर बनाउन निर्देशन दिएको थियो ।
पछि मन्त्रिपरिषद्ले १३ वैशाख २०७८ मा कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, बाँकेको जमुनाह, भैरहवाको बेलहिया, कपिलवस्तुको कृष्णनगर, झापाको काँकरभिट्टा, पर्साको वीरगञ्ज र मोरङमा होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो ।
तर, जग्गा खोज्नै समय लाग्दा कोभिड-१९ भाइरसको दोस्रो लहरको संक्रमण दर पनि घटिसकेको बेला बल्ल सेनाले होल्डिङ सेन्टर बनाउन थालेको थियो । भैरहवामा जग्गा फेला नपरेको भन्दै संरचना बनाइएन भने अन्यत्र बनेका होल्डिङ सेन्टरहरु बने पनि अहिलेसम्म अलपत्र छन् ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०८१ मा सात होल्डिङ सेन्टर निर्माणमा २ अर्ब १६ लाख ३५ हजार रुपैयाँ खर्च भएपनि प्रयोगविहीन अवस्थामा रहेको औंल्याइएको छ ।
रक्षा मन्त्रालयले ती भवन प्रयोग गर्न समिति बनाएको र समितिका सदस्यहरुलाई स्थलगत अध्ययनका क्रममा होल्डिङ सेन्टरमा सुधार गृहदेखि अस्पताल सञ्चालन गर्नेसम्मका प्रस्ताव आएको बताइएको छ ।
भोलि आवश्यक परेका बेला अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न मिल्ने गरी हाललाई स्वास्थ्य सम्बन्धी सेवा दिने गरी नै होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउनु ठीक हुने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।
पर्यटन क्षेत्रका जानकारहरु भने बजार नजिक रहेका होल्डिङ सेन्टरलाई होटल वा होमस्टे बनाएर सञ्चालन गर्न सकिने बताउँछन् । यसले पर्यटकलाई सस्तो र सुविधायुक्त आवास उपलब्ध हुने हुँदा पर्यटकीय गतिविधि बढ्ने उनीहरुको सुझाव छ ।