सिचुवान एअरलाइन्सः न पैसा फिर्ता दिन्छ न त यात्रु नै लैजान्छ
 
																	
																सिचुवान एअरलाइन्सका अलपत्र यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।
टुरिजमफेस
काठमाडौं । सिचुवान एअरलाइन्स गैरजिम्मेवार बनिदिँदा उड्न ठिक्क परेका यात्रुहरू अलपत्र परेका छन् । निकै पहिला नै टिकट लिइसकेका यात्रुहरूलाई उक्त एअरलाइन्सले बिहीवार काठमाडौंबाट चीन, क्यानडा, अमेरिकालगायतका विभिन्न गन्तव्यमा लैजाने कार्यतालिका थियो ।
तर बिहीवार उक्त एअरलाइन्स खराब मौसमको कारण देखाउँदै चीनबाट काठमाडौं आएन । काठमाडौं नआएपछि सोही रात उक्त एअरलाइन्सले एक रात सबै यात्रुलाई र्याडिसन होटलमा राख्यो । टिकट लिएका सबै यात्रुलाई शुक्रवार विमानस्थलमा बोलाइए पनि एअरलाइन्सका कर्मचारीले अबको अर्को उडान तीन दिनपछि अर्थात नोभेम्वर ३ मा हुने भन्दै सबैलाई घर जान भने ।
‘त्यति धेरै जरूरी नपरेका यात्रुहरू नोभेम्बर ३ मा हुने उडानमा जान भन्दै घर फर्केपनि बिरामी अवस्थामा रहेका, बिदा सकिएका तथा भिसा सकिएका यात्रु भने समस्यामा परेका छन् । समस्यामा परेका यात्रुहरूले अर्को जहाजको व्यवस्था गर्न वा टिकटको पैसा फिर्ता गर्न आग्रह गरे पनि एअरलाइन्सका कर्मचारीले अटेरी गरिरहेको अलपत्र एक यात्रुले बताए । क्यानडा फर्कदै गरेका एक यात्रुले छोरी बिरामी भएको कागज देखाउँदासमेत एअरलाइन्सका कर्मचारीले टिकटको रकम फिर्ता नदिएको उनले गुनासो गरे ।
त्यति मात्र होइन एअरलाइन्सले यात्रुलाई अलपत्र पारेको व्यापक गुनासो हुँदा समेत नागरिक उड्डयन प्राधिकरणले पनि कुनै चासो नदिएको उनले बताए । यात्रुहरू दिनदहाडै ठगीमा पर्दा पनि नियामक निकायले कुनै चासो नराखेपछि आलोचना भइरहेको छ । तर प्राधिकरणका कर्मचारी भने यो समस्या यात्रु र हवाई कम्पनीको भएको भन्दै पन्छिएका छन् । हवाई कम्पनीका कर्मचारी भने सम्पर्कमा आउन चाहेनन् ।
सिचुवान एअरलाइन्सका अलपत्र यात्रुहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ।

 
																	 
																	 
																	 
																	 
																	