रसुवाको लाङ्टाङ र क्याङ्जेन क्षेत्रमा हल्का हिमपातले पर्यटक रमाए
 
																	
																टुरिजमफेस
रसुवा । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् ।
दुई दिनदेखि लगातार परेको वर्षापछि त्यस क्षेत्रमा हिमपात पर्दा घुम्न गएका पर्यटक रमाइरहेको देखिन्छ । गोसाइँकुण्ड गाउँपालिका-४ का अध्यक्ष ढिण्डुप तामाङले अहिले लाङटाङ क्षेत्रमा ६० जना विदेशीसहित करिब १५० पर्यटक रोमाञ्चित बन्दै हिमपातको वातावरणबीच रमाइरहेको जानकारी दिए ।
खाद्यान्नको जोहो पहिला नै भइसकेका कारण आगन्तुक पाउनालाई खानबस्न कुनै समस्या नभएको लाङ्टाङ पदमार्गका व्यवसायीले बताएका छन् ।
यसैबीच मौसमसम्बन्धी विस्तृत जानकारी लिएर मात्र लाङ्टाङलगायत हिमाली भेगको पदमार्गमा यात्रा गर्न रसुवा जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ । हिमपातसँगै अत्यधिक चिसो हुनेहुँदा न्यानो ज्याकेट, सुइटर, टाउजरलगायतका कपडा एवं हिमाली बुटजुत्ता लगाएर पदयात्रामा निस्कन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
तपस्वी बाबा विजयका अनुसार समुद्र सतहदेखि चार हजार ३०० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा अहिले छ इञ्च बाक्लो हिमपात भएको भएको छ ।
गोसाइँकुण्ड जाने बाटोमा पर्ने लौरीविनायकसम्म हिमपात भएको र विशेषगरी आन्तरिक तथा धार्मिक पर्यटकहरू त्यसक्षेत्रमा रमाइरहेको चन्दनबारीका पर्यटन व्यवसायी सुब्बा लामाले जानकारी दिए ।

 
																	 
																	 
																	 
																	 
																	