९ महिनामा भित्रिए ८ लाख बढी पर्यटक, युरोपेली र अमेरिकी बढ्दा भारतीय पर्यटक किन घटे ?
काठमाडौँ । सन् २०२४ को ९ महिनामा ८ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि सेप्टेम्बारसम्म ८ लाख १६ हजार ३३९ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा सन् २०२३ को तुलनामा ६ प्रतिशत र सन् २०१९ को तुलनामा ४ प्रतिशतले पर्यटक आगमन बढेको छ । अगष्ट महिनाको तुलनामा सेप्टेम्बारमा भारतबाट नेपाल आउने पर्यटक घटेका छन् भने चीनबाट आउने बढेका छन् । अमेरिकी र युरोपियन मुलुकबाट आउने पर्यटक भने बढेका उनले बताए ।
सेप्टेम्बारमा भारतबाट २२ हजार नौ सय ८४ र अगष्टमा २५ हजार आठ सय ३२ पर्यटक नेपाल आएका छन् । चीनबाट सेप्टेम्बारमा ८ हजार ४२ र अगष्टमा ६ हजार ६१४ पर्यटक आएका निर्देशक लामिछानेले जानकारी दिनुभयो ।
मनसुनका कारण भारतीय पर्यटक घटेका हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाबाट अगष्टमा ५ हजार ६ र सेप्टेम्बारमा १० हजार ८४ पर्यटक नेपाल भित्रिएका छन् । श्रीलङ्काबाट सेप्टेम्बरमा ४ हजार ९१५ र अगष्टमा ४ हजार ८५१ पर्यटक नेपाल आएका थिए ।
बोर्डका अनुसार गत अगष्टमा मात्र ७२ हजार ७१९ पर्यटक नेपाल आएका थिए । सन् २०२३ को सेप्टेम्बरमा ९१ हजार १२, सन् २०२२ को सोही अवधिमा ५८ हजार ३१४, सन् २०२१ को सेप्टेम्बारमा ९ हजार ९०७ र सन् २०१९ मा ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका बोर्डले जनाएको छ । रासस
