दशौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला

टुरिजमफेस
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण सुरु भएको छ । बिहीवारदेख काठमाडौंको भुकृटीमण्डपमा मेला सुरु भएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेला बैशाख २९ गतेसम्म चल्ने छ ।
मेलाको उदघाट्न गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकार निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि काम गर्न तयार रहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे । उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्ल्ेख गर्दै सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए । उनले हालै संसद्मा पेस भएको नीति तथा कार्यक्रममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्याउने बताए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरूले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खोजेको उनको धारणा थियो । मेलाले स्वदेशी तथा विदेशी उद्योगीव् यवसायीहरू बीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको श्रेष्ठले बताए ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताए । नेपाल, चीन र बंगदादेशका गरी १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।