नेपालगन्जमा एक दशकपछि गुञ्जियो मुशायरा

टुरिजमफेस
नेपालगन्ज ।“जिन्दगी और साथ थोडा दे,
देश अपना हमे बनाना है…“
नेपाल–भारतको साहित्यानुरागी समुदायमा शौक नेपाली नामले चिनिने ८८ वर्षीय अब्दुल लतिफ शौकले जब यो शेर सुनाए, हलमा एकछिनको मौनता छायो। त्यसपछि गुञ्जियो ताली। उनलाई साथ दिइरहेका थिए आफुभन्दा पाँच दशक कान्छा गजलकार लक्ष्मण सँगम।
नेपालगन्जमा झण्डै एक दशकपछि शुक्रबार मुशायरा कार्यक्रम आयोजना गरिएको हो। मध्यपश्चिम स्रष्टा समाजको आयोजनामा भएको यस कार्यक्रममा उर्दुभाषी तथा नेपाली भाषी गजलकारहरु एकै मञ्चमा प्रस्तुत भए।
कार्यक्रममा ११ जना शायर तथा गजलकारले आफ्ना उत्कृष्ट गजल सुनाए। सहभागीमध्ये शौक नेपालीसँगै उर्दुमा शैयद नेपाली, मुस्तफा अहसन कुरैसी, जमिल हाशमी, अन्सर नेपाली, सर्वर नेपाली, मो. आरिफ अन्सारी थिए। नेपाली भाषातर्फ डा. निरज भट्टराई, हुकुम धड्कन, लक्ष्मण सँगम तथा सविन एकतारेले नेपाली र अवधी दुवै भाषामा प्रस्तुति दिए।
गजलमा गायन पनि मिसिएको थियो। अन्सर नेपाली, शैयद नेपाली र हुकुम धड्कनले स्वरमा समेत गजल सुनाउँदा दर्शक मन्त्रमुग्ध बने।
बिरलै देखिने साहित्यिक जमघट
कार्यक्रममा नेपालगन्जका साहित्यकार, चिकित्सक, राजनीतिकर्मी र अन्य पेशाकर्मीहरू समेत उपस्थित थिए। लामो समयपछि शहरमा यस्तो स्तरीय साहित्यिक कार्यक्रम भएको भन्दै उनीहरूले खुसी व्यक्त गरे।
वरिष्ठ साहित्यकार तथा पत्रकार नगेन्द्रराज शर्मा, नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, कथाकार सनत रेग्मी, प्रा. डा. कृष्णप्रसाद घिमिरे, डा. हरि तिमिल्सेना, प्राज्ञ सभा सदस्य शशीराम कार्की जस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति पनि कार्यक्रममा विशेष आकर्षण रह्यो।
काव्यगन्ज र विमर्श बिन्दु श्रृंखलामा विस्तार
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बिपी अस्तुका अनुसार, कार्यक्रम ‘काव्यगन्ज’ श्रृंखलाको तेस्रो अंक हो, जसअन्तर्गत यसपटक मुशायरा समावेश गरिएको हो।
कार्यक्रमकै क्रममा समाजको ‘विमर्श बिन्दु’ श्रृंखलाको पाँचौ अंक पनि सम्पन्न भयो। यसमा साहित्यिक पत्रिका ‘अभिव्यक्ति’ का संस्थापक सम्पादक नगेन्द्रराज शर्मा र ‘शिवपुरी सन्देश’ पत्रिकाका सम्पादक वियोगी बुढाथोकीले आफ्नो पञ्च दशक लामो पत्रिका प्रकाशन अनुभव साझा गरे।
साहित्यिक चहलपहलको पुनरागमन
एक दशकपछि भएको यो मुशायरा कार्यक्रमले नेपालगन्जमा साहित्यिक चहलपहलको पुनरागमन संकेत गरेको सहभागिहरू बताउँछन्।
“यस्ता कार्यक्रमले गजलको गहिरो भावलाई मात्रै होइन, भाषागत विविधतालाई पनि जोड्छ,” एक सहभागी साहित्यकारले भने।