काठमाडौं उपत्यकासहित बागमतीमा ठूलो वर्षाको सम्भावना छैनः जल तथा मौसम विज्ञान विभाग

टुरिजमफेस
काठमाडौं । भारी वर्षाका कारण जनजीवन त्रसित भइरहेको बेला जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमतीमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ ।
बंगालको खाडीबाट नेपाल प्रवेश गरेको बादलले भारी वर्षा गराउँदा काठमाडौंलगायत देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको थियो । वर्षाले निम्त्याउने खतरालाई मध्यनजर गर्दै सरकारले पूर्वतयारी गर्दै जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
काठमाडौंको नदी आसपासका क्षेत्र डुबानबाट प्रभावित भएका थिए । विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले जोखिमयुक्त सडकमा आवागमन बन्द गराएका थिए । सर्वसाधारणलाई सुरक्षित स्थानको प्रबन्ध मिलाइएको थियो । सम्भावित जोखिमलाई कम गर्न आइतबार र सोमबार सार्वजनिक विदा दिइएको छ ।
शुक्रबार रातिदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अब पूर्वतिर सरेको र पूर्वबाट पनि केहस् घण्टामै बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ । यद्यपि सजकता अपनाउन भने विभागले सबैमा आग्रह गरेको छ ।
विभागका अनुसार पछिल्लो २४ घन्टामा सबभन्दा बढी रौतहटको महेशपुरमा ३५२ मिलिमिटर वर्षा भएको छ । रौतहटकै गौरमा ३३४, गरूडामा ३०४.६, सिन्धुलीको हरिहरपुरगढीमा २९५, पर्साको मुडलीमा २९०.८, वीरगञ्जमा २८८, निजगढमा २६१.४, सर्लाहीको मनुस्मारामा २३३.६, मलंगवामा २२९, बाराको सिमरा विमानस्थलमा २२५.४, परवानीपुरमा २२१.६, पनौतीको खोपासीमा २१५.२, मकवानपुरगढीमा २१०, जनकपुरमा १८९.९, ललितपुरको लेलेमा १८४.२, गोदावरीमा १७८.८, सुन्दरीजलमा १४४.६, काठमाडौंको नैकापमा १४१.६ मिलिमिटर वर्षा भएको छ ।
विभागले आइतबार दिउँसो कोशी प्रदेश र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूूर्ण बादल लाग्ने पनि जनाएको छ । त्यस्तै बागमती, लु्म्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरूमा आंशिक बदलीको सम्भावना रहेको छ ।
कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी र मधेस प्रदेशका एक दुइ स्थानमा भने भारी वर्षाको सम्भावना छ ।