नक्कली हवाई टिकट र होटल बुकिङको नाममा पनि ठगिन्छन् सर्वसाधारण

टुरिजमफेस
काठमाडौँ । नक्कली नोट वा शैक्षिक योग्यताका प्रमाणपत्र बनाउने धन्दा त नेपालमा कुनै नयाँ होइन । तर हवाई टिकट र होटल बुकिङसमेत नक्कली बनाई ठगी गर्ने धन्दा पनि फस्टाएको पाइएको छ ।
यस्तै ठगी धन्दाको शिकार हिशी शेर्पालगायतका व्यक्ति भएका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गिल्ट ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालक श्रृजेश कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलनमा सहभागी हुने व्यक्तिहरूको लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत नक्कली बनाई ४ लाख ३० हजार रूपैयाँ ठगी गरेका छन् । शेर्पाको जाहेरीपछि प्रहरीले कार्कीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कार्कीले सबै कागजपत्र नक्कली बनाएको पाइएको छ । यसबारे थप अनुसन्धानका लागि प्रहरीले कार्कीलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको छ ।