ताइवानी अम्बाले फेरियो खजुराको खेतीको स्वरूप, एक सिजनमै २ लाख ५० हजारसम्म आम्दानी
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टले परम्परागत धान–तोरी खेती छाडेर सुरु गरेको ताइवानी अम्बा खेतीबाट आकर्षक आम्दानी लिन थालेकी छन्।
चार वर्षअघि एक बिघा जमिनमा अम्बाका बिरुवा रोपेकी विष्टले अहिले एक सिजनमै करिब २ लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्न थालेकी हुन्। उनका अनुसार अम्बाको वर्षमा दुई सिजन उत्पादन हुन्छ।
भारतबाट बिरुवा ल्याएर सुरु गरिएको उनको बगैँचामा ताइवानी प्रजातिका अम्बा प्रमुख छन्। केही स्थानीय जात पनि लगाइएको छ। उत्पादन बढ्दै गएपछि अम्बा खेती उनको मुख्य व्यावसायिक आम्दानीको माध्यम बनेको छ।
विष्टका अनुसार धान र गहुँको तुलनामा अम्बा खेतीमा श्रम र व्यवस्थापन सहज छ। उत्पादन सुरु भएपछि बजारको समस्या पनि भोग्नुपरेको छैन। बगैँचामा फल पाक्न थालेपछि व्यापारीहरू आफैँ खरिदका लागि आउने गरेका छन्।
अम्बालाई गुणस्तरीय र आकर्षक बनाउन उनले फलमा प्लास्टिक प्याकिङ गर्ने प्रविधि अपनाएकी छन्। यसबाट अम्बालाई किरा तथा चराचुरुङ्गीबाट जोगाउन सहयोग पुग्नुका साथै फलको बाहिरी स्वरूप पनि राम्रो देखिने उनको अनुभव छ।
उत्पादन भएको अम्बाको मुख्य बजार नेपालगञ्ज हो। कतिपय ग्राहकले बगैँचाबाटै खरिद गर्छन् भने व्यापारीहरूले मण्डीमार्फत नेपालगञ्ज बजारमा पुर्याउने गरेका छन्। बगैँचा ठेक्कामा दिइएको अवस्थामा भने खरिदकर्ताले नै फल टिपेर लैजाने गरेका छन्।
व्यावसायिक रूपमा अम्बाबाट आम्दानी लिन थालेको करिब डेढ वर्ष भए पनि त्यसबाट प्राप्त परिणामले विष्टलाई खेती विस्तार गर्ने उत्साह थपेको छ।
धान, तोरीलगायत परम्परागत बालीबाट फलफूल खेतीतर्फको उनको रूपान्तरणले कम श्रममा तुलनात्मक रूपमा राम्रो आम्दानी लिन सकिने सम्भावना देखाएको छ। स्थानीय किसानहरूका लागि समेत उनको अम्बा खेती वैकल्पिक कृषि व्यवसायको उदाहरण बन्न थालेको छ।
विष्टले आगामी दिनमा अम्बा खेतीको क्षेत्र विस्तार गरी आम्दानी बढाउने योजना बनाएकी छन्। उनको अनुभवबाट प्रभावित भएर स्थानीय अन्य किसानसमेत व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन्।
