अमरेशको चेतावनी : छठपछि मधेसमा रास्वपा सांसदविरुद्ध आक्रोश बढ्न सक्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मधेसमा सरकारका पछिल्ला निर्णयप्रति बढिरहेको असन्तुष्टिले पार्टीका सांसदलाई समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।
रास्वपा सभापति रवि लामिछानेको निर्देशनमा पार्टीका सांसद तथा मन्त्रीहरूसहित आयोजित छलफलमा सिंहले यस्तो धारणा राखेका हुन्।
सीमावर्ती क्षेत्रमा सरकारले गरेको कडाइका कारण मधेसका सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको उनको भनाइ थियो। सीमापारबाट ल्याइने सामानमा भन्सारसम्बन्धी व्यवस्था कडाइका साथ लागू गरिएपछि मधेसका विभिन्न क्षेत्रमा असन्तुष्टि देखिएको उनले बताए।
सर्वोच्च अदालतमा यस विषयमा रिट परेपछि नागरिकमाथि सम्मानजनक व्यवहार गर्न अन्तरिम आदेशसमेत जारी भएको थियो। व्यापक विरोधपछि सरकारले भन्सार व्यवस्थामा केही लचकता अपनाए पनि समस्या पूर्ण रूपमा समाधान नभएको सिंहको दाबी छ।
सरकारले विभिन्न विषयमा गल्ती गरिरहेको आरोप लगाउँदै सिंहले आफूलाई केही समय दिए सरकारका थुप्रै कमजोरी सार्वजनिक गर्न सक्ने बताएका थिए।
छलफलमा उनले मधेसमा बढिरहेको असन्तुष्टिको राजनीतिक असर रास्वपामाथि पनि पर्न सक्ने संकेत गर्दै छठ पर्वपछि पार्टीका सांसदले जनताको आक्रोश सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए।
